काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रद वितरणको घोषणा गरेको छ । 

नेपाल स्टक एक्सचेञ्जमा आइतबार प्रकाशित एक सूचनाका अनुसार कम्पनीको १२८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । बोनस सेयर वितरणपछि हुन आउने चुक्तापूँजीको सतप्रतिशत हकप्रद समेत निश्कासन गर्ने बोर्डले निर्णय गरेको छ । 

यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट समेत पारित हुनुपर्छ । 
गत वर्ष यो फाइनान्स कम्पनीले सेयरधनीलाई १६.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जेबिल्स फाइनान्सले ३९ लाख ७८ हजार रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो फाइनान्सको चुक्तापूँजी २५ करोड ६८ लाख रुपैयाँ छ । १२.५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी २८ करोड ८९ लाख रुपैयाँ पुुग्नेछ । त्यसपछि निश्कासन हुने भनिएको १ बराबर १ अर्थात सतप्रतिशत हकप्रदको वितरण तथा व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी ५७ करोड ७९ लाख रुपैयाँ पुुग्नेछ ।