काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधीकरणमा ध्यान दिन लगानीकर्ताहरुलाई आग्रह गरेको छ। 

विश्व लगानीकर्ता सप्ताह (वर्ल्ड इन्भेस्टर विक– २०२२)को अवसरमा लगानीकर्ताहरुका लागि १९ बुँदे सन्देश जारी गर्दै सेबोनले यस्तो आग्रह गरेको हो। धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरणलगायतका जानकारी लिई आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमताअनुसार लगानी उपकरण छनौट गरी लगानीसम्बन्धी निर्णय लिन पनि सेबोनले आग्रह गरेको छ। 

सेबोनले धितोपत्र दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारिक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै– लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मल्य प्रत्ति, कम्पनीको साधारणसभाको निर्णय (माइन्यूट) र कम्पनीसँग सम्बन्धित उद्योग–क्षेत्रको अवस्था आदिजस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्न सुझाव दिएको छ। 

यस्ता छन् सेबोनका १९ सन्देश

  • धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानीसम्बन्धी निर्णय लिनुहोस्।
  • धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका जानकारी लिई आफनो स्वविवेकमा जोखिम बहन गर्ने क्षमताअनुसार लगानी उपकरण छनौट गरी लगानीसम्बन्धी निर्णय गर्नुहोस्।
  • धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्नुहोस्। प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आह्वानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङस्तरजस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस्।
  • धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारिक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभाश घोषणा, हकप्रद सेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मल्य प्रत्ति, कम्पनीको साधारणसभाको निर्णय (माइन्युट) र कम्पनीसँग सम्बन्धित उद्योग–क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुहोस्।
  • धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रतिसमेत सजग रहनुहोस्।
  • धितोपत्र बजारमा मुद्रास्फिति, बैंकको तरलता तथा व्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानीसम्बन्धी निर्णय लिनुहोस्।
  • धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधीकरणमा ध्यान दिनुहोस्। 
  • दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकार रहनुहोस्।
  • धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर गर्नुहोस्।
  • धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई (२) दिनभित्रमा कारोबारको राफसाफ (टी+२) हुनुपर्ने कुराको जानकारी लिनुहोस्। यदि उक्त अवधिमा राफसाफ नभए बोडलाई जानकारी गराएमा बोर्डले तत्काल कारबाही प्रकया अगाडि बढाउने छ।
  • धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तै. फेसबुक, क्लब हाउस, युट्युब तथा टिकटक आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारिक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा लगानीसम्बन्धी निर्णय नलिनहोस्।
  • नयाँ–नयाँ प्रविधि प्रयोग गरी हुने कारोबार सम्बन्धमा सचेत रहनहोस्।
  • धितोपत्र कारोबार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत गर्नुहोस्। धितोपत्र कारोबारबापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको आवश्यक जानकारी लिनुहोस्।
  • आफूले लगानी गर्न लागेको सेयर कुन प्रकारको सेयर (जस्तै– संस्थापक सेयर, साधारण सेयर अग्राधिकार सेयर) र त्यसको विशेषता, फाइदा वा वेफाइदाका बारेमा जानकारी लिएरमात्र लगानीसम्बन्धी निर्णय लिनुहोस्।
  • नेपाल स्टक एक्सचेन्जबाट सूचीकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओभर द काउन्टर बजारबाट कारोवार गर्न सकिने व्यबस्था भएको हुँदा सो वारे जानकारी राख्नुहोस्।
  • धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फतमात्र कारोबार गर्नुहोस्।
  • धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरुसम्बन्धी आधिकारिक जाकारकीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस्।
  • धितोपत्रमा लगानीसम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुहोस्।
  • बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी निर्यामत रुपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशनमार्फत सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी भै बजार तथा लगानीसम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुहोस्।

विश्वभर हरेक वर्ष अक्टोबर १० देखि अक्टोबर १६ सम्म विश्व लगानीकर्ता सप्ताह मनाइन्छ। यो सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ।