काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आगामी जेठ ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ७१ हजार ४ सय कित्ता साधारणसेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडानम्बर १, ३ र ४ (साबिक इलाम जिल्ला साखेजुङ, पुवामजुवा र माइपोखरी गाविस)का बासिन्दाहरुका लागि आइपीओ निश्कासन गर्ने भएको हो । 

आइपीओमा सो क्षेत्रका बासिन्दाले छिटोमा जेठ २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । त्यो अवधिसम्म पनि सबै सेयरका लागि आवेदन नपरे ढिलोमा असार ११ गतेसम्मको मिति तोकिएको छ ।

कम्पनीले आफ्नो कुल चुक्तापूँजीको १० प्रतिशतले हुन आउने सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्न लागेको हो । यसपछि ४९ प्रतिशतले हुन आउने १८ लाख १९ हजार ८ सय ६० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना रहेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीको अधिकृत पूँजी ४५ करोड, जारी पूँजी ३७ करोड १४ लाख र चुक्तापूँजी १८ करोड ९४ लाख रुपैयाँ रहेको छ । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सिद्धार्थ बैंकको इलामबजारस्थित शाखा, फिक्कल बजारस्थित शाखा, एक्सेल डेभलपमेन्ट बैंकको इलाम तथा फिक्कल बजारस्थित शाखा, कन्काई विकास बैंकको बिब्ल्याटे, मंगलबारे, तीनघरे र राँकेस्थित शाखामा गएर विवरणपत्र, दरखास्त लिन तथा रकम बुझाउनसक्ने व्यवस्था गरिएको छ ।

आइपीओमा न्यूनतम ५० देखि अधिकतम १८०० कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।  

यो कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७३/७४ मा ८७.२१ रुपैयाँ रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यसको आइपीओलाई ग्रेड ५ को ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था आधारभूत भन्दा निकै कमजोर रहेको छ भन्ने हो । 

जोशी हाइड्रोपावर कम्पनीले ३ हजार किलोवाट क्षमताको माथिल्लो पुवा १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।