काठमाण्डौ । आयोजना प्रभावितले समेत नपत्याएको जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले आइतबार(मंसिर १६ गते)देखि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेको छ । 

आइपीओमा छिटोमा मंसिर १९ गतेभित्र र ढिलोमा पुस १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

यसअघि कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावितलाई निश्कासन गरेको थियो । 

स्थानीय बासिन्दाले नकिनेको दुई लाख ४२ हजार १० कित्तासहित सर्वसाधारणहरुलाई छुट्याईएको १४ लाख ४८ हजार ४६० कित्तागरी कुल १६ लाख ९० हजार ४ सय ७० कित्ता निश्कासन हुन लागेको हो ।

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा ३ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

आवेदन दिने कि नदिने ?
यो कम्पनीको आइपीओलाई इक्रा नेपालबाट इक्रा रेटिङ्ग ‘इक्रा एनपि र्आइपिओ ग्रेड ५’ दिइएको छ, यसको अर्थ यो कम्पनीको अवस्था निकै कमजोर छ भन्ने हो । अवस्था कमजोर भएकै कारण आयोजना प्रभावितले यो कम्पनीको सबै आइपीओ किनेका थिएनन्। आयोजना प्रभावितका लागि निश्कासन गरिएको कुल आइपीओमध्ये करिब ३३ प्रतिशत मात्र बिक्री भएको थियो । 

पछिल्लो समय बित्तीय अवस्था कमजोर भएका दर्जनौ यस्ता जलविद्युत आयोजनाहरुले सर्वसाधारणको करोडौं डुबाएका छन् । यस्ता आयोजनामा कुरा नबुझी लगानी गरेकै कारण सर्वसाधारण लगानीकर्ताको करोडौं डूबेपछि पछिल्लो समय लगानीकर्ताका संघसंगठन तथा सामान्य लगानीकर्ताहरुले समेत ४ र ५ को रेटिङ पाउने कम्पनीहरुलाई आइपीओ निश्कासनमा रोक लगाउनुपर्ने माग उठिरहेको छ । यस्तो माग गर्नुको प्रमुख उद्देश्य भनेकै यस्ता कम्पनीमा लगानी गर्दा लगानीकर्ताको लगानी डूब्नुको विकल्प हुँदैन भन्ने नै हो । गत शुक्रबार सेयर लगानीकर्ताको स्वतन्त्र दवाब समूहले समेत धितोपत्र बोर्डमा बुझाएको मागपत्रमा ४ र ५ रेटिङ पाएका कम्पनीहरुलाई आइपीओ निश्कासनमा रोक लगाउनुपर्ने माग गरिएको छ । 

यो आयोजनाले हालसम्म प्रति मेगावाट १८ करोड रुपैंया लागत अनुमान गरेको छ । आईपीओ निष्कासनबाट प्राप्त हुने रकममध्ये १२ करोड रुपैंया ऋण तिर्न र बाँकी अन्य दायित्वहरु भुक्तानी गर्न प्रयोग हुने बताइएको छ ।

निर्माणको चरणमा रहेको यो हाइड्रोपावर यो वर्षसम्म घाटामा रहे पनि आगामी वर्षदेखि न्यून नाफामा जाने कम्पनीको अनुमान छ । नाफामा गए पछि आगामी २ वर्ष क्रमशः ५.१२ र ६.०४ रुपैंया प्रतिशेयर आम्दानी हुनसक्ने प्रक्षेपण गरिएको छ।

यो कम्पनीले लगानी फिर्ता गर्ने समय ११ वर्ष र त्यसको ब्याजदर अनुमान गरी डिस्काउन्टसहितको शेयर फिर्ता गर्ने समय ३० वर्ष छ । यत्तिका लामो समयसम्म लगानी फसाएर बस्ने धैर्यता हुनेले आइपीओ खरीद गर्दा हुन्छ, नभए यो कम्पनीको आइपीओमा मरिहत्ते गर्नु त्यति अर्थपूर्ण देखिन्न । 

दोश्रो बजारमै फालाफाल छ सेयर, किन मरिहत्ते गर्ने ?
घट्दो बजारमा पछिल्लो समय केही जलविद्युत कम्पनीको सेयर आइपीओ मूल्यमै फालाफाल छ । यसकारण समेत यो कम्पनीको आइपीओ मरिहत्ते गर्नु अर्थपूर्ण देखिन्न । 

पछिल्लो समय दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, नेशनल हाइड्रोपावर कम्पनी र सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडको दोश्रो बजार मूल्य आइपीओ मूल्य(१०० रुपैयाँ)भन्दा कम छ । यस्तै, छ्याङ्दी हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको दोश्रो बजार मूल्य समेत आइपीओकै नजिक छ । 

यसरी यति धेरै हाइड्रोपावर कम्पनीको सेयर दोश्रो बजारमै आइपीओ भन्दा कम र केही आइपीओ हाराहारीमा पाइरहँदा जोशी हाइड्रोपावर जस्तो कमजोर कम्पनीको प्राथमिक सेयरमा लगानी गर्नु समय र पैसाको मात्र नाश हुने देखिन्छ 

हुन त, कुन कम्पनीमा लगानी गर्ने या नगर्ने भन्ने निर्णय तपाई लगानीकर्ताकै हो । तपाई आफैंले पनि कम्पनीको अवस्था बुझेर आफ्नो लगानी निर्णय लिन सक्नुहुन्छ।