-भक्तराज रसाइली 
काठमाण्डौ । सेयर बजारलाई समेत आफ्नो प्रोफेसनका रुपमा अगाडि बढाइरहेका युवा जमात पछिल्लो समय बढ्दो छ । सेयर बजारबाटै नाम र दाम कमाउने सपना बोकेर आएका यस्तै भीडमा एक युवा सेयर बजारमा आफ्नो भविष्य खोजिरहेका छन् । यी युवाले सेयर बजारमा अढाई वर्षमै बजारको गहिराई अध्ययन मात्रै गरेनन् सेयरको कमाईलाई पनि अब्बल बनाउँदै लगे ।

गोरखा स्थायी घर भएका अमिर तिमिल्सिना उच्च अध्ययनका लागि राजधानी आएका थिए । ३२ वर्षीय तिमिल्सिना राजधानी आएपछि प्लस टूको अध्ययन सकाएपछि सामाखुशीमा रहेको एक सहकारीमा जागिर खान थाले । बीबीएस अध्ययन गर्दै निर्वाणा बचत तथा ऋण सहकारीमा मार्केटिङ र कर्जा अधिकृतका रुपमा कार्यरत उनी सेयर बजारमा सक्रिय थिएनन् । उनको नाममा सोही सहकारीकै मेनेजरले आइपीओ भर्दा रहेछन् । सेयर बजारबारे बेखबर उनी दैनिक पत्रपत्रिकामा बजार खसेको बारे समाचार पढ्थे । अनि बिस्तारै उनमा पनि सेयर बजारको मोह चढ्दै गएछ ।

तिमिल्सिना आज पनि सामाखुशीमा अवस्थित एक सहकारीमा अफिसरका रुपमा कार्यरत छन् । उनी हाल वनस्थली बस्छन् । कृषि पेशाप्रति पनि निकै मोह बोकेको उनले गोरखामै कृषि फर्म समेत सञ्चालन गर्र्दै आइरहेका छन् ।

भाग्यमानी नै मान्नुपर्छ तिमिल्सिनालाई यसअर्थमा कि उनले बजारको बियरिस ट्रेण्डको अन्ततिर प्रवेश गरे । पत्रपत्रिकामा सेयर बजार निकै तल झरेको विषयले उनलाई बजार प्रवेश गर्ने उपयुक्त समय लागेछ । 

हुन त अधिकांश व्यक्तिहरु बढ्दो बजारमा प्रवेश गर्ने चलन छ । नेप्से १३१८ इण्डेक्स हुँदा एकैदिनमा डिम्याट खाता खोली उनी सिधै दोस्रो बजार प्रवेश गरेका हुन् । आफूसँग रहेको १७ लाख रुपैयाँले उनले सेयर किने । एभरेष्ट, नबिल, स्टाण्डर्ड चार्टर्ड, नेपाल बैंकलगायत १० बैंकका सेयर उनले एकैदिन १७ लाख रुपैयाँको खरिद गर्न भ्याए । उनले सुरुवातीताका धेरै गुमाउन थालेको अनुभव सुनाए । हकप्रद सेयरको लोभमा आफू फसेको उनले दाबीसमेत गरे ।

'हकप्रद सेयर दिने कम्पनीमा सुरु सुरुमा नयाँ लगानीकर्ता फँसिदोरहेछ',तिमिल्सिना भन्छन्-'समायोजनपछि सेयरमूल्य घट्दो रहेछ, तर मलाई थाहा थिएन ।'

बजार छिरेको केहीदिनमै उनले ८ लाख पनि कमाउन सफल बनेछन् तर प्रफिट बुक गर्ने तरिका नजानेपछि उनको पोर्टफोलियो क्रमशः घट्दै गयो । हकप्रद सेयरकै कारण ठूलो घाटा बेहोर्नुपरेको उनको भनाइ छ ।

तिमिल्सिनालाई सेयर बजारप्रति दिनानुदिन नशा चढ्दै गयो । १७ लाख रुपैयाँबाट सेयर लगानी सुरु गरेका उनले घरबाट मगाएर थपी ४० लाख रुपैयाँ लगानी पुर्याए । सिक्री, औंठी र ब्रासलेटसमेत बेचेर सेयरमा खन्याउँदै गए, झन् झन् उनमा बजारको नशा चढ्दै गयो । नशा बढ्दै गएपछि उनले पोर्टफोलियो पनि बढाउँदै लगे । व्यक्तिगत ऋण, सेयर धितोकर्जासमेत गरेर उनले पोर्टफोलियो करोडमाथि पुर्याए।

जब तिमिल्सिनाले सेयरमा घाटा खाए तब उनलाई सेयर बजारबारे अध्ययन र विश्लेषण गर्ने सुर चलेछ । मार्केट डेप्थ, बजारको व्यवहार, युट्युवलाई उनले नजिकबाट नियाल्न थाले । अध्ययनकै क्रममा उनले राति १ बजेको पत्तो पनि नपाउने गरी घोत्लिए । घाटा हुनुका कारणबारे बल्ल उनी जानकार भए जति उनी अध्ययनको दायरा बढाउन थाल्छन् । 'नेपालमा लगानीकर्ताहरु हकप्रदकै कारण धेरै डुब्छन्',तिमिल्सिना भन्छन्-'हकप्रदले लाभांश क्षमता धराशयी बन्छ भन्ने ज्ञान छैन र म त्यसै कारण सुरुमा डुबेको कमजोरी पत्ता लगाए ।'

तिमिल्सिनाले सुरुवाती ताका बैंक तथा वित्तीय संस्थाका सेयर किनेका रहेछन् तर नाफा कम भएपछि उनले ती सेयरहरु सबै बेचे । अनि सूर्या लाइफ इन्स्यारेन्सको सेयर प्रतिकित्ता रु.२४० सम्म झरेका सबै किन्दै गए । सूर्या लाइफकै हकप्रदमा डुबेको दाबी गर्ने उनले सोही कम्पनीको हकप्रद सेयर आवेदन गर्ने पैसा नपुगेर साथीहरुसँग २४ प्रतिशत ब्याजदरमा ऋणसमेत काढेको तीतो अनुभव सुनाए । सूर्या लाइफ इन्स्योरेन्सकै सेयर पछि ६४० प्रतिकित्तासम्म उनले बेचेर निकै लोभलाग्दो नाफा कुम्ल्याए ।

नेपाल पुनर्बीमा कम्पनीको सेयर पनि तिमिल्सिनाले प्रतिकित्ता ३९० देखि ५८० रुपैयाँ सम्ममा खरिद गरी ९२० रुपैयाँमा बेचेर राम्रो कमाइ गर्न सफल बने । 'टुक्र्याएर सेयर किन्न हुँदैन रहेछ, कुनै पनि कम्पनीको सेयर किन्दा भोल्युममा किनेर नाफा कमाउन सकिने मेरो अनुभव छ ।' उनले जिकिर गर्दै भने-'आजसम्म म आफ्नो पोर्टफोलियोमा केबल ४ वटा स्टकमात्र राख्छु । २ जीवन बीमा कम्पनी र २ वाणिज्य बैंकका सेयर मेरो पोर्टफोलियोमा समावेश छ । कुनै समय म २० वटासम्म कम्पनी किन्थे, जुन सरासर गलत रहेछ । तर जेहोस् समयले सबै सिकायो ।'

बजारको ट्रेण्ड अनुसार नै तिमिल्सिना सेयर किनबेच गरेको बताउँछन् । आधा ट्रेडर, आधा इन्भेष्टर भन्न रुचाउने उनले स्टाण्डर्ड चार्टर्ड बैंकमा १ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकमा पनि १ लाख रुपैयाँ घाटा भएको बताए । अढाई वर्षे सेयरलगानीको अनुभवमा उनी अहिले भने लाभांशले जस्टिफाई गर्ने खालका कम्पनीमा मात्र लगानी गर्ने गरेको सुनाए ।

सुरुवातताका सेयर लगानीबाट भएको घाटाका विषयमा राम्रोसँग पाठ सिकेकै कारण अहिले फड्को मार्न सकेको तिमिल्सिना सुनाउँछन् । अरुको सल्लाहमा भन्दा स्वअध्ययनमा सेयर लगानी गर्दा मनग्यै कमाउन सकिने उनले बताए । सहकारीमा ५ हजार रुपैयाँबाट जागिर सुरु गरेका उनको हाल मासिक आम्दानी २५ हजार रुपैयाँ छ, तर त्यससँगै यता सेयर बजारबाट भने उनको आम्दानी मनग्यै छ । उनी निकटका २० जना साथीहरु भेला गरी इन्भेष्टमेन्ट कम्पनी पनि खोल्ने योजनामा रहेको बताए । उनले वृद्धअवस्थाम्म पनि सेयर बजारमा नै सक्रिय हुने दाबीसमेत गरे ।

तिमिल्सिनाको पोर्टफोलियो हाल ऋणबाहेक अढाई वर्षकै अन्तरालमा ४ गुणा बढेको दाबीसमेत छ । 'अहिले त सफल नै छु तर भविष्यमा कस्तो हुने हो चिन्ता छ।' उनी अलिक भावुक हुँदै भन्छन्-'तर अहिलेसम्म कमाई गरेको प्रतिफलले चाहिँ सबै बैंकका सेयर किन्दैछु र म ढुक्क छु ।'

हाल वनस्थलीमा डेरा बस्दै आइरहेका तिमिल्सिनालाई घरगाडी भन्दा पनि पोर्टफोलियो बढाउने र नाफा कमाउनकै ध्यान रहेछ । बजार माथि हुने आशा भएकाले अहिलेसम्म सेयरको कमाईले घरगाडी नकिने उनको भनाइ छ । उनले २ वर्षसम्म चाहिँ घरगाडी केही नजोड्ने योजना बुनेका रहेछन् ।

नयाँ लगानीकर्ताहरुले ६ महिनाको सुरुको अवधिलाई ट्रयाल अवधि मानी विस्तारै लगानी गर्न तिमिल्सिनाको सुझाव छ । बिस्तारै बजार बुझ्दै अध्ययन गर्दै गरेपछि लगानी पनि बढाउन उनल सल्लाह दिए । 'खल्तीमा नगद भयो भने बजारले बारम्बार अवसर दिन्छ',उनले खुशी हुँदै भने ।

अब्बल लगानीकर्ता हुन चाहिँ मुख्य कुरा के चाहिने रहेछ भन्ने जिज्ञासामा तिमिल्सिना धैर्यता, कम्पनीको विश्लेषण गर्ने क्षमता र स्वअध्ययन नै रहेको बताउँछन् । हल्लाकै भरमा आफूले किनेको सेयर फाल्नुभन्दा सही कम्पनी छनौट गरी होल्ड गर्दा सेयरबाटै कमाउन सकिने उनले जिकिरसमेत गरे ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले प्रदान गर्ने लाभांश, सेयरको भोल्युम र बजारको ट्रेण्डलाई नजिकबाट चिहाई लगानी निर्णय गर्नुपर्ने तिमिल्सिनाको धारणा छ । जोखिमको पनि गणना गर्दै स्वविवेकको लगानीले सेयरबाट करोडपति हुने उनको भनाइ छ ।

तिमिल्सिना आफ्नै नेतृत्वमा निकट समयमै इन्भेष्टमेन्ट कम्पनी खोल्ने योजनामा छन् । भविष्यमा सेयर कन्सलट्यान्ट हुने उनको चाहना छ ।

वार्षिक लाखौँ श्रमशक्ति नेपाली श्रम बजारमा भित्रिन्छन् अनि पैसा कमाउनैका निम्ति बिदेश जानेको संख्या पनि कम छैन तर सेयर बजार अध्ययन सुझबुझका साथ केही लाख रुपैयाँ लगानी गरे करोडपति हुन सकिने तिमिल्सिनाजस्ता धेरै युवाहरुको संघर्षको कथा लेख्न बिजशाला सदैव इच्छुक छ ।

जय युवा !! जय सेयर बजार !!