काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार ज्योति लाइफको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। 

कम्पनीले गत शुक्रबार (फागुन २१ गते) देखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार मंगलबार साँझ ५ बजेसम्म यो आईपीओमा कुल १६ लाख ४ हजार १४९ आवेदकबाट ३ करोड ४१ लाख २१ हजार ७८० कित्ताका लागि आवेदन परेको छ। यो हिसाबले मंगलबारसम्म मागभन्दा २ करोड ८१ लाख ८१ हजार ७८० कित्ता बढीका लागि आवेदन परेको छ। 

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गरेको हो। हाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।