काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओले सेयरको सार्वजनिक निश्कासनका हालसम्मका सबै रेकर्ड तोडेको छ । यो कम्पनीको आइपीओमा आवेदन दिन अन्तिम दिन बुधबार साँझसम्म १८ लाख ४ हजार ६४८ वटा आवेदन परेका हुन् । 

कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिनेले ३ करोड ८० लाख ५७ हजार बढी कित्ता मागेका छन् । 

यसअघि नेपाली बजारमा निश्कासन भएका आइपीओमा सर्वाधिक करिब साढे १६ लाख वटा आवेदन परेको रेकर्ड थियो । त्यो रेकर्डलाई ज्योति लाइफको आइपीओले तोडिदिएको हो । 

पछिल्लो समय डिम्याट खोल्नेहरुको संख्या ह्वात्तै बढेसँगै आइपीओ भर्नेहरु पनि बढेका यसले देखाउँछ । प्राथमिक बजार गुल्जार बनाउने पछिल्लो र महत्वपूर्ण भूमिका भने नेपाल इन्फ्रास्टक्चर बैंकले निर्वाह गरेको हो । यो बैंकको हात खालि नहुने ठूलो परिमाणको आइपीओकै लागि भनेर डिम्याट खोल्नेहरु बिस्तारै प्राथमिक बजारमा अभ्यस्त हुँदा त्यसको फाइदा ज्योति लाइफलाई भएको हो । 

कम्पनीले गत शुक्रबार (फागुन २१ गते)देखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

लगानीकर्ताले सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यसकारण आज मध्यरातिसम्म पनि आवेदन दिन सकिने भएकोले फाइनल डेटा आउँदा आवेदकको संख्या र माग भएको सेयर संख्या अझै बढ्नेछ । 

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गरेको हो। हाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।