काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो बिमा कम्पनीको बुधबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव पारित गरेको हो । 

कम्पनीका जारी पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत भनेको ६६ करोड रुपैयाँ हो । 

साधारणसभाले आइपीओ निश्कासनका लागि अन्य आवश्यक प्रक्रिया अगाडि बढाउन संचालन समितिलाई अख्तियारी दिने निर्णय समेत गरेको छ । सबै प्रक्रिया पूरा गरी आइपीओ निश्कासन गर्न भने केही महिना लाग्ने बताइएको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार प्रथम साधारणसभाले कम्पनीको संचालकमा पशुपति मुरारका, आकाश गोल्छा, शर्मिला महर्जन र नन्दकिशोर शर्मा निर्विरोध चयन भएका छन् ।