काठमाण्डौ । लाभांशको बहारले बढेको बजार अधिक बिक्री चापका कारण फेरि घटेको छ । केही ठूला कम्पनीको आकर्षक लाभांश घोषणा तथा त्यसलाई सुरक्षित गर्ने होडले आइतबार बढेको बजार सोमबार झण्डै दोहोरो अंकले घट्न पुुगेको हो । तर, आइतबारको तुलनामा सोमबारको कारोबार भने बढेको छ । 

पछिल्लो समय नेपाली सेयर बजारमा सर्ट टर्म कारोबारी(छोटो अवधिका लागि सेयरको कारोबार गर्नेहरु) हाबी छन् । बजारमा सामान्य वृद्धि हुने बित्तिकै उनीहरुले सेयर बिक्री गर्छन् र त्यसबाट थोरै नै भए पनि नाफा बुक गर्छन् । सोमबारको बजारमा समेत यही प्रवृति देखिएको छ । तर, परिसूचक घटे पनि कारोबार रकम चाहि माथि उक्लिनुले बजारमा उत्साह बढिरहेको देखाउँछ । 

सोमबारको बजारले ‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ता समेत सलबलाएका बुुझ्न सकिन्छ । यहीकारण धेरै समयको अन्तरालपछि कारोबार रकम एकअर्बतर्फ उन्मुख भएको हो । 

नेप्से परिसूचकमा हुने १० अंकको घटबढलाई सामान्य मानिन्छ । यो दिन परिसूचक ९.४१ अंकले घट्यो । तर, ठीक विपरीत कारोबार रकम चाहि बढेर करिब ९२ करोडको उचाईमा पुग्यो । यसले भविष्यमा बजार अझ बढ्नसक्ने संकेत गर्छ । बजारमा देखिएको यस्तो उत्साहको मुख्य कारण लाभांश नै हो । 

लाभांश घोषणाको बहार आउँदा समेत परिसूचक बढ्न नसक्नुुमा चाहि बजारमा सेयरको अधिक आपूर्तिलाई प्रमुख कारणको रुपमा हेरिएको छ । बजार बढ्ने सिजन भए पनि मागको तुलनामा अधिक आपूर्ति रहेका कारण परिसूचक बढ्न नसकिरहेको विश्लेषकहरु बताउँछन् । 

सोमबार नेप्से परिसूचक घटेर १६१२.९१ अंकमा झरेसँगै क वर्गका कारोबार मापक र समग्र कारोबार मापक सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्स क्रमशः २.३९ र ०.७५ अंकले घटे । 

विकास बैंक र उत्पादनमूलक बाहेक सबै समूहको सूचक घट्यो । विकास बैंक समूह ६.८५ अंक तथा उत्पादनमूलक २७.९५ अंकले बढे । 

यो दिन बैकिङ समूह १३.४७ अंकले घट्यो । यस्तै, बिमा समूहमा ४५.३८, होटलमा १८.०६, जलविद्युतमा ७.२१, बित्त समूहमा ७.४२ र अन्य समूहमा २.०३ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीको १५ लाख ५६ हजार २ सय ६८ कित्ता सेयर ९१ करोड ७४ लाख ४१ हजार ७ सय १३ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंकले कारोबार गर्यो । यो कम्पनीले मात्रै ६ करोड ६३ लाख बढीको कारोबार गर्यो । बोनस सेयर र हकप्रद प्राप्तिको लोभमा यो कम्पनीका लगानीकर्ता थुप्रिएका हुन् ।

छिमेक लघुवित्त विकास बैंक लिमीटेडले ६ करोड ३४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ८८ लाख, प्राइम लाइफले ४ करोड ४३ लाख, नबील बैंकले ३ करोड ६६ लाख, हिमालयन पावर पार्टनर लिमीटेडले ३ करोड ३५ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ४३ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, २ स्थान विकास बैंक र एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार तीन कम्पनीका लगानीकर्ताले पैसा छापे । स्वरोजगार लघुवित्त विकास बैंक, हिमालयन डिस्टीलरी र हिमालयन पावर पार्टनर लिमीटेडको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । नागबेली लघुवित्त विकास बैंकको मूल्य ७.४० र रिलायवल माइक्रोफाइनान्सको मूल्य ७.०९ प्रतिशतले वृद्धि भयो । 

यस्तै, यो दिन २ म्युुचुुअल फण्डको इकाई तथा एक फाइनान्सको सेयर मूल्यमा पहिरो गयो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ र नबील ब्यालेन्स फण्ड १ को इकाई मूल्यमा १० प्रतिशतको हाराहारीमा पहिरो गयो । जनरल फाइनान्सको सेयर मूल्य साढे ९ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो ।