काठमाण्डौ । सेयर बजार झन् झन् प्यानिक बन्दै गएको छ । ठूला चाडपर्व सुरु हुनै लाग्दा बजारमा भने चरम निराशा देखिएको छ । यहीकारण अर्थमन्त्रीको बोलीको प्रभावले २ दिन उछालको गतिमा कुदेको बजारमा गिरावटको क्रम पुनः सुरु भएको छ ।
यो क्रमले मंगलबार पनि निरन्तरता पायो । लगानीकर्ताको कमजोर मनोबल, बैंकिङ प्रणालीमा तरलता सुरु भइसकेको खबर तथा ब्याजदरमा हुन नसकेको परिवर्तन, नियामक तथा सम्बद्ध निकायले बजार बिस्तार तथा विकास लागि तत्काल गरिहाल्नुपर्ने काम समेत नगरी झारा टार्ने गरेको प्रवृति लगायतका कारणले बजारमा प्यानिक अवस्था बन्न थालेको हो ।
यस्तै, यही बेला सेयर बजारको विकल्पको रुपमा लगानीका अन्य उपकरणहरु समेत बजारमा आएपछि यसतर्फ समेत लगानीकर्ताको ध्यान गएको देखिन्छ । ऋणपत्रहरुमा छोटो समयमै निकै ठूलो लगानी भइसकेको छ भने म्युचुअल फण्ड जस्ता स्किमहरुमा समेत लगानीको अवसर छ । यस्ता वैकल्पिक लगानीका अवसरले समेत दोश्रो बजारलाई हिट गरिरहेको विश्लेषकहरु बताउँछन् ।
कतिपय साना र सर्टटर्म लगानीकर्ताहरुले समेत दशैं खर्चको जोहो सेयर बेचेरै पनि गर्ने गरेका छन् । यसले समेत बजारमा बिक्री चाप बढाउन मद्धत गरेको कतिपयको धारणा छ ।
समग्रमा उत्साहित बनाउने भन्दा पनि लगानीकर्तालाई निरुत्साहित बनाउने घटनाक्रमहरु धेरै भएका कारण बजारको अवस्था दिनहुँ कमजोर बन्दै गएको देखिन्छ ।
पछिल्लो समय नेप्से परिसूचकमा गिरावट मात्र नभई कारोबार रकम पनि २० करोडको हाराहारीमा हुन थालेको छ । यो भनेको निकै प्यानिक र चिन्ताजनक अवस्था रहेको बजारका जानकारहरु दाबी गर्छन् ।
माथि उल्लेख गरिएकै घटनाक्रमहरुका कारण घटिरहेको बजारमा मंगलबार ६.४२ अंकको गिरावट आयो ।
ठूला र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४३ अंकको गिरावट आयो ।
होटल समूहमा १३.४८ अंकको बढोत्तरी भएको यो दिन ट्रेडिङ समूह ३.६३ अंकले बढ्यो । म्युचुअल फण्ड समूहमा ०.०३ अंकको झिनो बढोत्तरी पनि आयो ।
बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो ।
बैंकिङ समूह ४.१७ अंकले घटेको यो दिन विकास बैंक समूहमा ४.७८ अंक, बित्त समूहमा १.८६ अंक, माइक्रोफाइनान्स समूहमा ७.८६ अंक, जीवन बिमा समूहमा ६४.८६ अंक, निर्जीवन बिमा समूहमा ३२.५२ अंकको गिरावट आएको छ ।
जलविद्युत समूह ९.७७ अंकले घटेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा १७.८८ अंक र अन्य समूहमा ५.९४ अंकको गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका ८ लाख ७३ हजार ७९ कित्ता सेयर २१ करोड ८२ लाख ७८ हजार ४४९ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी सानिमा बैंकले ३ करोड १६ लाख बढीको कारोबार गरेको छ ।
सिद्धार्थ बैंकको ३ करोड १२ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा शिवम् सिमेन्टले १ करोड, प्रभू बैंकले ७३ लाख, सिद्धार्थ बैंकले ६१ लाख, नवील बैंकले ६० लाख बढीको कारोबार गरे।
ज्योति विकास बैंकको ५८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनआइसी एशिया बैंकले ४९ लाख, डिप्रोक्स लघुवित्तले ४८ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४५ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन खानी खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै कमाए । कम्पनीको सेयर मूल्य ८.१६ प्रतिशतले बढ्यो ।
रैराङ हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७.२७ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19