काठमाण्डौ । झन्डै साढे २ वर्षपछि आँधिखोला लघुवित्त वित्तीय संस्था सेयर कारोबार फुकुवा भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो। नेपाल राष्ट्र बैंकले गत जेठ २४ गते नेप्सेमा पत्र पठाउँदै यो लघुवित्तको धितोपत्रको कारोबार फुकुवा गर्न बाधा नरहेको जानकारी गराएको थियो। 

राष्ट्र बैंकबाट पत्र आएपछि नेप्सेले आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो। अब यो लघुवित्त सेयर भोलि जेठ २७ गतेबाट कारोबारमा आउनेछ। 

धौलागिरी लघुवित्तसँग मर्जर प्रक्रिया सुरु भएपछि आँधिखोला लघुवित्तको सेयर कारोबार २०७६ पुस ३ गतेबाट नेप्सेले रोक्का राखेको थियो। तर, मर्जर प्रक्रिया सुरु भएको डेढ वर्षपछि यी दुवै लघुवित्त आपसमा मर्जरमा नजाने निर्णय गरेका थिए। 

सेयर कारोबार रोक्का हुँदाको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्त प्रतिकित्ता ४६५ रुपैयाँ रहेको छ।