काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा  २९.२५  अंकको पहिरो गएको छ । तर, कारोबार रकम(टर्नओभर)मा भने सुधार भएको छ ।

पहिरो व्यहोरेको नेप्से परिसूचक(इण्डेक्स) घटेर १३५७.२२ अंकमा सीमित  बन्न पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम साढे७ करोड भन्दा बढीले वृद्धि भयो । 

नेप्से परिसूचकले बजारमा पहिरोको अवस्था सिर्जना गरे पनि कारोबार रकम सुधार हुनु राम्रो कुरा हो । तर, भविष्यमा बजार  बढ्नका लागि कारोबारसँगै परिसूचकमा पनि सँगसँगै सुधार हुनुपर्दछ । परिसूचकमा  पहिरो गए पनि कारोबारमा सुधार भएका कारण धेरै निराश हुनुपर्ने अवस्था भने छैन ।

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ६.०६ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.०५ अंकको गिरावट आएको छ ।

यो दिन बजारका सबै समूहको सूचक राताम्मे भएका छन् । बिमा समूहले सबैभन्दा बढी २३१.१२ अंकको भीषण पहिरो व्यहोरेको छ । यस्तै, बैकिंग समूह २१.४२ अंक, होटल समूह ४७.०९ अंक, विकास  बैंक  समूह ३४.७५ अंक, जलविद्युत समूह ४६.६८ अंकले घटेका छन् । यस्तै, बित्त समूह ११.६१ अंक, उत्पादनमूलक ३७.४१ अंक, माइक्रोफाइनान्स ४३.२६ अंक तथा अन्य समूह १२.५४ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका १३ लाख ३८ हजार ७ सय ३७ कित्ता सेयर ६३  करोड ८४ लाख ४३ हजार  ३ सय ६३ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी राष्ट्रिय बिमा कम्पनीको २ करोड ८२ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । नेपाल बैंक लिमीटेडले २ करोड १२ लाख बढीको कारोबार गरेको बजारमा सिद्धार्थ बैंकको १ करोड ९३ लाख बढीको संस्थापक सेयरको समेत किनबेच भयो । 

राष्ट्रिय बिमा कम्पनीको १ करोड ९३ लाख बढीको साधारण सेयर किनबेच भएको यो दिन नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ७७ लाख बढीको संस्थापक सेयरको समेत कारोबार भयो । यस्तै, एशियन लाइफ इन्स्योरेन्सले १ करोड ५० लाख, फरवार्ड माइक्रोफाइनान्सले १ करोड ३९ लाख, सोल्टी होटलले १  करोड ३९ लाख तथा एभरेष्ट बैंकले १ करोड ३८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वदेशी लघुवित्तका लगानीकर्ताले  सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ६ प्रतिशतले वृद्धि भयो । मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य समेत ५.०९ प्रतिशतले बढ्यो ।

यो दिन सबैभन्दा बढी नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको मूल्य ७.५७ प्रतिशतले घट्यो । यस्तै, ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्था, बोटलर्स नेपाल(तराई) लिमीटेड र नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्य समेत ७ प्रतिशत भन्दा बढीले घट्यो ।