- जो टिडी

भिडिओ शेअर गर्ने एप टिकटकले केही बालबालिका र युवाहरूले भिडिओ बनाउनका लागि प्रभावित गर्नेहरूबाट पैसा पठाउन आएको दबाबका लागि आफूलाई दु:ख लागेको बताएको छ।

टिकटकले प्रशंसकहरूलाई डिजिटल उपहार पठाउने सुविधा दिन्छ। त्यस्तो उपहार ६१ डलरसम्मको मूल्यका छन्।

बीबीसीको एउटा अनुसन्धानले त्यसरी भिडिओ बनाउन प्रेरित गर्नेहरूले आफ्नो फोन नम्बर दिने बाचा गर्दै प्रशंसकहरूबाट उपहार लिने गरेको पत्ता लगाएको छ।

टिकटकले आफ्ना नीति र निर्देशिकालाई बलियो बनाउने जनाएको छ। तर उसले त्यो कसरी गर्ने भन्ने चाहिँ व्याख्या गरेको छैन।

क्लेएर (नाम परिवर्तन) ले बीबीसी न्यूजसँग बोल्दै आफूले टिकटकका सबैभन्दा मनपर्ने व्यक्तिको फोन नम्बर पाउनका लागि १ सय २५ डलर खर्च गरिन्। त्यसरी खर्च गरेको प्रति उनी अहिले पछुतो मान्छिन् किनभने उनले त्यसरी पाएको नम्बरमा फोन गर्दा कहिल्यै पनि उठेन।

इंग्ल्याण्डको उत्तर-पश्चिममा बस्ने १२ वर्षीया क्लेएरले टिकटकमा निकै चर्चित रहेका सेबास्टिएन मोएलाई उनको भिडिओको प्रशंसा गर्द ६१ डलर बराबरको "ड्रामा क्वीन" उपहार पठाइन्। र जब मोएले आफ्नो व्यक्तिगत फोन नम्बर दिने भन्दै अर्कोपटक रकम मागे उनी केही क्षणका लागि बहकिइन्।

अमेरिकामा रहेका सेबास्टिएन मोएको टिकटकमा ३८ लाख प्रशंसक छन् र उनले एपका कुनै पनि नियमहरू तोडेका छैनन्।

बीबीसीले उनको प्रतिक्रियाका लागि अनुरोध गरे पनि उनले त्यसको जवाफ दिएका छैनन्।

बजारको ठूलो हिस्सा

टिकटक निकै छिटो मौलाएको सामाजिक सञ्जालसम्बन्धी एप हो जसका ५० करोड नियमित प्रयोगकर्ता छन्। कम्पनीले आफ्नो प्रयोगकर्ता कति छन् भन्ने चाहिँ खुलाएको छैन।

एप स्टोरमा टिकटक एक अर्बभन्दा बढी पटक डाउनलोड गरिएको अनुमान गरिएको छ।

उक्त एपमा १५ सेकेण्डसम्मको भिडिओहरू हाल्न मिल्छ। खासगरी अडियोमा स्वर मिलाएर भिडिओ बनाउने र ट्रेण्डमा रहेको संगीतमा नाच्ने अनि भिडिओ बनाउने गरिन्छ।

कम्पनीका अनुसार टिकटक धेरैजसो १६ देखि २४ वर्ष उमेर समूहका मानिसहरूबीच चर्चित छ। तर एपको नियम विपरित १३ वर्षभन्दा कम उमेरका थुप्रै प्रयोगकर्ता भएको प्रमाण पनि छ।

१३ वर्षमुनिका बालबालिकासँग उनीहरूको व्यक्तिगत विवरण अभिभावकको सहमति बिना नै लिएको आरोपमा यसअघि नै उक्त कम्पनीलाई अमेरिकाको नियामक निकायले ५७ लाख डलर जरिवाना तिराइसकेको छ। मंगलवार युकेकी सूचना आयुक्तले पनि उक्त एपले कलिला प्रयोगकर्ताको सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएको छ कि छैन भनेर छानबिन सुरु गरेको खुलासा गरेकी छन्।

"अहिले टिकटकमाथि सक्रिय खालको अनुसन्धान भइरहेकोले तपाईँले त्यो हेर्नसक्नुहुन्छ," एलिजावेथ डेनह्यामले भनिन्।

१ हजार भन्दा बढी मानिसहरूले फलो गरेपछि उक्त एपमा भिडिओ बनाउनेहरूले प्रत्यक्ष प्रशारण गर्न पाउँछन्।

प्रशंसकहरूले आफूलाई प्रभावित पार्ने भिडिओ निर्मातालाई डिजिटल उपहार पठाउन सक्ने यति नै बेला हो।

त्यस्ता डिजिटल उपहारहरू स्क्रिनमा देखापर्छन् र ती एक डलरभन्दा कमदेखि ६१ डलरसम्म पर्दछ।

एपका चर्चित व्यक्तिहरूले एकपटक त्यसरी प्रत्यक्ष आउँदा हजारौं डल कमाउँछन्।

त्यसरी पठाइने डिजिटल उपहारमार्फत् टिकटकले कति हिस्सा राख्छ भन्न उसले अस्वीकार गरेको छ। तर भिडिओ बनाउने केहीले बीबीसीलाई बताए अनुसार टिकटकले डिजिटल उपहारबाट उठेको ५० प्रतिशत पैसा आफूले राख्छ।

बाचा गरिएका इनाम

१० हप्ताभर बीबीसीले दर्जनौं प्रत्यक्ष भिडिओहरूको अनुगमन गर्‍यो जहाँ एपका चर्चित व्यक्तिहरूले आफ्ना प्रशंसकलाई उपहार पठाउन भनेका छन्।

त्यसको बदला प्रत्यक्ष भिडिओका बेला उनीहरूको नाम लिइदिने, 'फलो ब्याक' गर्ने र प्रशंसकसँग मिलेर भिडिओसमेत बनाउने प्रस्ताव गर्छन्। टिकटकमा अर्को व्यक्तिसँग मोबाइलको स्क्रिनमा दुई भागमा देखिने गरी अर्को व्यक्तिसँग मिलेर भिडिओ पनि बनाउन मिल्छ।

एकजना भिडिओ निर्माताले आफ्ना प्रशंसकसँग "एक हप्ताभरी" इन्स्टाग्राममा कुरा गर्ने बाचा गरे र त्यसका लागि उनले १८५ डलर बराबरको तीनवटा उपहार पाए।

केही निर्माताहरूले उपहारको बदला फोन नम्बर र व्यक्तिगत विवरणहरू नियमितजसो पठाउने प्रस्ताव गरे।

बीबीसीले एउटा त्यस्तो समूह पनि पत्ता लगायो जसले को व्यक्तिले उपहार दिन्छ भनेर हेरि उनीहरूलाई प्रत्यक्ष सम्पर्क गर्ने र "लाइक्स" र "फलो" का लागि पैसा माग्ने पनि छ।

शोषणमा

टोरोन्टोकी स्टेफानी बारबरले आफ्नी ११ वर्षीया छोरीले ३ सय पाँच डलर सकेको फेला पारिन्।

"पैसा के मा खर्च भयो भन्ने थाहा पाएर म त चकित भए," उनले भनिन्।

"मैले मेरो छोरीलाई सोधेँ, 'तिमीले यसका लागि केही पनि पाउँदैनौं?'" र उसले जवाफमा भनि , 'अहँ।'

"ठूला मानिसलाई राम्रोसँग थाहा हुनुपर्छ। र अरू किशोरावस्थाकाहरूलाई पनि - कि तिमीले बालबालिकासँग पैसा माग्नुहुँदैन।"

टिकटककी अर्की प्रशंसक केल्लीले बीबीसीसँग आफूले डिजिटल उपहारका लागि ६ सय ३० डलरदेखि ७ सय ५० डलरसम्म आफ्नै पैसा खर्च गरेको बताइन्। उनलाई आफू ठगिएको जस्तो लागेर अहिले पैसा पठाउँदिनन्।

"म बुझ्छु मानिसहरूलाई आजकाल सामाजिक सञ्चालमार्फत् पैसा कमाउन आवश्यक छ तर मलाई लाग्छ मानिसहरूलाई उनीहरूको कामबारे प्रशंसित महसुस गर्न वा त्यसबारे अरूले ख्याल गरेको थाहा पाउन जबरजस्ती पैसा दिन बाध्य पारिनछ," केल्लीले भनिन्।

२० वषीया र्राइजले आफूले खर्च गरेको महसुस नै नगरीकन १२ सय ५० डलर खर्च गरेको बताए।

"टिकटकमा उपहार दिनु भनेको धेरथोर जुवा खेल्नु जस्तै हो," उनले भने "यसको लत बस्छ। मैले तत्काल त केही गलत देखिनँ तर अहिले त्यो त्यति खर्च गर्न लायक होइन भन्ने लाग्छ।

"मलाई केही देखाउन छैन। त्यो मेरो व्यक्तिगत रोजाइ हो तर मलाई लाग्छ टिकटकमा कति उमेरकोले चलाउने भनी उमेरको बन्देज लगाउनुपर्छ र कति समयसम्म खेल्ने भन्ने पनि तय गरिनुपर्छ।"

बीबीसीले टिकटकमा चर्चित भएका र पैसा कमाउन उपायहरू चाल्ने त्यस्ता केही व्यक्तिहरूलाई सम्पर्क गर्‍यो तर ती मध्ये धेरैले जवाफ फर्काएनन्।

पछुतो लाग्छ

टिकटकमा नेफाटी ब्रदर्श नामले चिनिने दाजुभाइले जम्मा ६ महिनामा २५ लाख फलोअर्स बटुले।

पोल्याण्डका २५ वर्षीया यी दाजुभाइ ल्यानकासाएरस्थित ब्ल्याकबर्नमा बस्छन्। उनीहरू आफ्नो नाँच र हास्यव्यङ्ग्यात्मक स्केचका कारण चर्चित छन्।

उनीहरू फलो ब्याक गर्नका लागि ६१ डलरको "ड्रामा क्वीन" उपहार पठाउन र प्रशंसकको नाम आफ्नो टाउकोमा लेख्नका लागि एउटा भन्दा बढी त्यस्तो उपहारहरू पठाउन भन्छन्।

उनीहरूले त्यस्ता उपहारहरू नियमित रुपमा पाउन थालेकाले आफूहरू पठाउन प्रस्ताव गरेको बीबीसीलाई बताए।

उनीहरूले टिकटकका अरू चर्चित भिडिओ निर्माताहरूले गरिरहेको कुरालाई नै आफूले पनि पच्छ्याएको बताए। उनीहरूले त्यसरी उपहार पठाउने धेरै प्रशंसकहरू करिब ३० वर्षको भएको पनि बताए।

तर उनीहरूले एकदमै कलिल प्रशंसकहरूबाट उपहार पाउँदाचाहिँ आफूलाई ग्लानी महसुस हुने बताए।

"हामीलाई उपहार पठाउनेहरू एकदमै साना भएको मनपर्दैन, त्यसैले सामान्यता हामी उनीहरूसँग उपहार माग्दा त्यसबारे उनीहरूको अभिभावकलाई थाहा छ कि छैन भनेर सोध्छौं," उनीहरूले भने।

"तर हामी उनीहरूलाई रोक्न सक्दैनौं। हामी पनि आफूलाई रोक्न सक्दैनौं। हामी प्रत्यक्ष केवल पैसाका लागि मात्रै गएका हैनौं हाम्रा दर्शक बढी पाउनका लागि पनि हो।"

दक्षिणी वेल्सकी रियाको २५ लाख प्रशंसक छन्। उनको भिडिओ सम्पादनमा निकै कुशल र सिर्जनात्मक छिन्।

उनले औसतमा आफ्ना प्रशंसकहरू १० देखि १४ वर्ष उमेरका भएको बताइन्। उनले आफूले उपहार माग्दा उनीहरू सधैँ एकदमै खुसी भएको पनि बताइन्।

तर उनलाई पनि साना बालबालिकाबाट थुप्रै उपहार लिँदा असहज महसुस हुन्छ।

उनलाई उपहारहरूमा पठाइने स्टीकरमा उमेरको कडा हदबन्दीसम्बन्धी नियम लागोस् भन्ने लाग्छ।

"भिडिओ बनाउनेका हिसाबले यसले हामीलाई शान्ति दिन्छ," उनले बीबीसीसँग भनिन्।

"यसले तपाईँलाई थप नैतिक बनाउँछ किनभने जीवन चलाउनका लागि बालबालिकाबाट पैसा लिनु साँच्चै राम्रो काम होइन।"

धोका

टिकटकमा प्रत्यक्ष भएका बेला उपहार दिने काम चीनमा सुरु भएको हो - जहाँ यसका मालिक बाइटडान्स बस्छन्। उपहार दिने यो चलन यहाँ धेरै नै चर्चित छ।

लाइभ देखिने व्यवसायिक "क्याम गर्लस्" भनिने युवतीहरूले आफ्ना दर्शकबाट प्रशस्त पैसा कमाउँछन्।

पश्चिममा, ट्वीचजस्ता खेल खेल्ने ठाउँमा पैसा दिने काम निकै सामान्य छ।

यद्यपि, टिकटकमा छोटो समयमै प्रयोगकर्तामाझ यो व्यवसाय पहिला कहिल्यै नभएजसरी फस्टाएको छ।

टिकटक बाइटडान्स नामक चिनियाँ कम्पनीको स्वामित्वमा छ।

बीबीसीको खास प्रश्नमा जवाफ दिन अस्वीकार गरे पनि उसले डिजिटल उपहारबारे अनुसन्धान गरिरहेको बताएको छ।

एउटा विज्ञप्तिमा उसले भनेको छ: "हामीले धोखा दिने खालको व्यवहार सहँदैनौं। केहि प्रयोगकर्ताको अनुभव सुनेर हामी दुखित छौं।"

हामीलाई थाहा छ निर्देशिका बनाउने, सूचनालाई थप पहुँचयुक्त अनि सबै प्रयोगक्तालाई सहजै बुझ्न सकिने बनाउने जस्ता सुधारका लागि जहिले पनि ठाउँ हुन्छ।

"हामी तपाईँको सुझावहरूको कदर गर्छौं र हाम्रा नीति र उत्पादनका सेवाहरूलाई थप बलियो बनाउँछौं।"

कम्पनीले कस्ता नीतिहरू वा निर्देशिकाहरूमा परिवर्तन गर्ने भनेर चाहिँ त्यसको विवरण दिएन।

दबाब

इन्फ्लुएन्सर मार्केटिङ फ्याक्ट्रीका एलेसान्ड्रो बोगलिएरीले टिकटकमा थप परिवर्तनका लागि ठूलो दबाब थियो।

"निकै चर्चित बनिरकेको ब्रान्ड बारे यस्ता खालका कुराहरू उठ्नु सामाजिक सञ्जालका लागि राम्रो होइन," उनले भने।

"एपमा धेरै सम्भावना छ तर सुधार गर्नका लागि पनि स्पष्ट रुपम धेरै ठाउँ छ।"

"मलाई लाग्छ अभिभावकले नियन्त्रण गर्ने थुप्रै फिचर्सहरू राख्नु एउटा राम्रो उपाए हुनसक्छ र एकपटक प्रत्यक्ष हुँदा कतिसम्म उपहारस्वरुप दिनसकिने भन्ने पनि तोकिनुपर्छ।

"उनीहरूले निर्देशिकाहरू पनि थप स्पष्ट बनाउन सक्छन् र प्रयोगकर्तालाई महङ्गा पर्ने त्यस्ता केही खास कुराहरूमाथि प्रतिबन्ध लगाउन सक्छन्।" – बीबीसी नेपाली सेवाबाट