-भक्तराज रसाइली
काठमाण्डौ । सुन्दा अचम्म लाग्ला, विवाहमा टीका लगाएको पैसाबाट सेयर बजारमा पाइला टेकेकी महिला सेयरबाटै करोडपति बनिन्, त्यो पनि टिकाटालोको त्यही पैसा लगानी गरेर ।
भाग्य र कर्मले साथ दिएपछि सेयर बजारमा केही हजार रकम लगानी गरेकी एक पात्र ११ वर्षको अवधिमा करोडपति बनेकी एक रोचक स्टोरी यसपटक हाम्रो छनौटमा परेको छ ।
कल्पना बराल एक साधारण गृहिणी, तर शंकरदेवबाट व्यवस्थापन विषयमा डिग्रीहोल्डर हुन् । बराल नागरिक लघुवित्तकी सञ्चालक समेत रहेकी छिन् । बराल झापा शनिश्चरेबाट काठमाण्डौ प्रवेश गरेकी हुन् र हाल ललितपुरको सानो गाउँकी बासिन्दा हुन् ।
उनले सुरुमा लोकसेवामा अधिकृत पदका लागि समेत आवेदन दिइएकी थिइन् र शिक्षक लाइसेन्स पनि पाएकी थिइन् । आफ्ना श्रीमान नरेन्द्रकुमार प्रसाईँकै हौसला र प्रेरणाले सेयर बजारमा होमिएकी बरालले नेपाल बैंकमा कार्यरत प्रसाईँसँग २०५६ सालमा लगनगाँठो कसेकी थिइन् ।
विवाहपछि आइपीओ भर्ने गरेकी बरालले विवाहमा टीका लगाएर दिएको ५० हजार रुपैयाँबाट २०६३ सालदेखि दोस्रो बजारमा सक्रिय भइन् ।
त्यसताका २५ नम्बर ब्रोकरकहाँ गोविन्द भट्टराईसँग भेट भई विचार विमर्श र परामर्श लिदै दोस्रो बजारमा बामे सरेको बरालले विगत कोट्याइन् ।
आफ्नो जेठो सुपुत्रको ब्रतवन्धमा उठेको १ लाख रुपैयाँमध्ये केही रकम स्वालम्बन लघुवित्तमा लगानी गरेकी थिइन् । सो कम्पनीको ८८ कित्ता सेयर १ सय ८६ रुपैयाँमा किनेर १३ सय ५० रुपैयाँमा बेचेको रोचक प्रसङ्ग सुनाइन् ।
सुरुवातीताका कुमारी, लुम्बिनी र एनसीसी बैंकको आइपीओ भरेकी बरालले दोस्रो बजारबाट बीओके(हाल बीओकेएल) उठाइन् ।
पचास हजार रुपैयाँको लगानी सेयर बजारको महासमुन्द्रमा थोरै भएको महसुस गरेर उनले साथीभाइबाट २० लाख, विश्वासिलो साथीको ओडी ७ लाख जम्मा गर्दै पोर्टफोलियो बढाउँदै लगिन् । ‘त्यो समयमा हप्तामै सेयर मूल्य डबल हुन्थ्यो ।’ उनले खुशी हुँदै भनिन्–‘पछि आफैंले बैंकबाट समेत सेयर लोन लिदै लगानी गर्न थालेँ ।’
नेरुडे ७ सय ५० मा किनेर २२ सयमा र स्वावलम्बनको ५ सयमा किनेर २७ सयमा बेचेको उनले स्मरण गर्दै छोटो समयमा १ सय २८ देखि ४ सयसम्म नेपाल बंगलादेशको सेयर किनेर १४ सम्म बेचेको रोचक प्रसङ्ग समेत सुनाइन् । तर, त्यसका लागि आत्मबल दह्रो बनाउँदै डेढ वर्षसम्म कुरेको उनको भनाई छ ।
बरालले चिलिमेको केही सेयर ८ लाखमा किनेर ८८ लाखमा बेचेको समेत दाबी गरिन् ।
‘मैले चिलिमेबाट कमाएको पैसाले ललितपुरमा १२ आना जग्गा जोडी त्यसमा बंगलादेश बैंकको सेयरबाट कमाएको पैसाले अढाईतले घर बनाएकी हुँ।’ उनले भनिन् ।
सेयरकै कमाइले ह्युन्डाइकै गाडी र विभिन्न ठाउँमा घरघडेरी समेत जोडेको बरालको भनाइ छ । उनले एक आफन्तसँग मिलेर १० लाख लगानी गरेबापत फर्मास्युटिकल्स कम्पनीबाट समेत वार्षिक २ लाख बुझ्ने गरेकी छिन् ।
उनले सेयरबाटै हजारौंको लगानी पछि लाखौं थप्दै करोडौं पोर्टफोलियो बनाउन सफल भएको सुनाइन् ।
नेप्से १७ सय ५० विन्दूमा हुँदा बजारबाट ८० प्रतिशत रकम झिकेकी विवेकशील लगानीकर्ता बरालले बाँकी क्रमशः २० प्रतिशत पनि बेच्न भ्याएकी थिइन् । ललितपुरमा घर बनाउनुपर्ने र सानो काखे छोरोलाई पर्याप्त समय दिन घरमा व्यस्त हुन परेकै कारणले १७ सय ५० हुँदा बाहिरकी बरालले भाग्यले नै पनि ५० प्रतिशत साथ दिएको जिकिर गरिन् ।
एकहप्ताअघि अनामनगरस्थित दीपशिखामा सेयर कारोबारका लागि कमब्याक भएको र अब बजार पस्ने सुअवसर भएकाले क्रमशः लगानी बढाउने योजना समेत बरालले सुनाइन् ।
ह्वीम र हल्लाका पछि नदगुरी टार्गेट सुनिश्चित गर्दैै लगानी गरेमा सेयरबाट करोडपति हुन सकिने बरालको भनाई छ । सफल लगानीकर्ता बन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सूचना तथा समाचारमा आफूलाई अपडेट राख्न जरुरी भएको बरालको तर्क छ ।
सेयरमा लगानी गर्दा पारिवारिक सल्लाह र जान्नेबुझ्नेसँग रायसल्लाह लिनुपर्ने उनको सुझाव छ । किनेको मूल्यमा गिरावट आउँदा लगानीकर्ताहरु आत्तिएर बेच्ने र पर्खनसक्ने क्षमता गुमाउन नहुने उनको सुझाव छ ।
‘सेयरबाटै करोडपति हुनुभयो, सक्सेस मन्त्र चाहिँ के हो ?’ भन्ने बिजशालाको जिज्ञासामा धैर्यता र शीघ्र निर्णय भएको उल्लेख गर्दै बरालले भनिन्–‘राय सबैको लिए पनि निर्णय आफ्नो हुन एकदमै आवश्यक छ ।’
विवाहित महिलाहरु श्रीमानको कमाइमा भर नपरी आफ्नो इच्छाको क्षेत्रमा सक्रिय हुनुपर्ने पनि बरालको सुझाव छ । समयको ख्याल गर्दै आफैं पैसा कमाउन लागि पर्नुपर्ने उनको धारणा छ । आफ्ना बालबच्चालाई समेत शिक्षा र स्वास्थ्यमा मात्र लगानी गर्ने बाँकी कुरा आफैं मिहिनेत गर्न उनले सुझाउने गरेको खुलाइन् ।
लगानीलाई अल्पकाल र दीर्घकालमा बाँडफाँड गर्दै प्रवेश र बाहिरिने विन्दूको पहिचानमा विशेष रुपमा चनाखो हुनुपर्ने उनको सुझाव छ ।
नेपालको पूँजी बजारको विकासका लागि धेरै काम गर्न बाँकी रहेको विचार राखेकी बरालले सिस्टम बसाउन अत्यावश्यक भएको बताइन् ।
नेपाली सेयरबजारमा २ वटा बूम देखिसकेकी बरालले ८ सय नेप्से इण्डेक्सबाट २ सय ९२ को विन्दूमा झर्दा प्यानिक भएको विगत सम्झँदै आत्मबल दह्रो बनाइ सम्हालिएको अनुभव सुनाइन् ।
सोही मजबुत आत्मबलका साथ सेयर बजारमा सक्रिय भएको र धैर्यता राखी बुद्धिमतापूर्वक लगानीको निर्णय लिएका कारण आफू करोडपति बन्न सकेको उनको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago