Yuwaraj Khatiwada
-सुदर्शन शर्मा
काठमाण्डौ । दलका शीर्ष नेताहरुको चर्को दवाबलाई पन्छाउँदै तथा सर्वोच्च अदालतको अंकुशको समेत विकल्प खोज्दै प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडालाई नै किन रोजे होलान् ? अहिले अधिकांशको जिज्ञासा यही छ । अझ सेयर बजारको बिषयमा डा. खतिवडाले विगतमा गरेका नकारात्मक टिप्पणीलाई लिएर कतिपयले उनको अर्थमन्त्री नियुक्तिसँगै सेयर बजार तथा लगानीकर्ताको दुर्दिन पो सुरु हुने हो कि भन्ने डर समेत पालेका छन् । अर्थतन्त्रलाई बुुझेका र लामो समयसम्म महत्वपूर्ण निकायको प्रमुखको रुपमा सफल नेतृत्व हाँकेका डा. खतिवडा अर्थमन्त्री बन्दै गर्दा सेयर बजार र लगानीकर्ता डराउनुुपर्ने कुनै कारण होला ? डा. खतिवडाले समग्र अर्थतन्त्र र त्यसको ऐना मानिने सेयर बजारका लागि कस्तो भूमिका खेल्लान् ?
सरसर्ती हेर्दा डा. खतिवडा अर्थमन्त्री बन्दैमा सेयर बजार र यसका लगानीकर्ता तर्सिनुपर्ने कुनै कारण छैन । विगतमा डा. खतिवडाले बजारलाई अनुत्पादक क्षेत्र भने पनि उनलाई समेत नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले भने सेयर बजारको बिषयमा सकारात्मक धारणा प्रस्तुत गर्दै आएका छन् । ओली प्रधानमन्त्री बन्नुुअघिदेखि नै सेयर बजारमा लगानीको सुरक्षा र यसलाई व्यवस्थित गर्ने बिषयमा सकारात्मक छन् । ओली आफैं सेयर बजारका विज्ञ होइनन् । यसो हुँदा उनले सरकारमा आउनुुअघि जे जति धारणा सार्वजनिक गरे, ती त्यसै आएको होइन । ओलीको किचन क्याबिनेटमा आर्थिक सल्लाहकारको रुपमा लामो समयदेखि डा. खतिवडाले भूमिका निर्वाह गरिरहेका थिए ।
डा. खतिवडाले अर्थमन्त्रीको रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नु भनेको बाम गठबन्धनको भविष्य समेत उज्वल हुनुु हो । उनले पेश गर्ने आर्थिक योजना तथा समृद्धिका कार्यक्रमहरुले देशको मुहार बदल्न सक्छ । एउटा ऐतिहासिक अवसर र चुनौतिको बीचमा उभिएर डा. खतिवडाले अर्थमन्त्रीको सपथ लिंदै गर्दा देशलाई समृद्धि र आर्थिक विकासको बाटोमा डोहोर्याउने बाम गठबन्धनको चुनावी घोषणालाई पनि सम्झिएकै होलान् ।
ओलीले देखाएका बग्रेल्ती सपनाहरुलाई साकार पार्ने महत्वपूर्ण भूमिका डा. खतिवडाको रहन्छ । यस्तो अवस्थामा उनले लगानीकर्ताको अहित हुने गरी कुनै काम गर्लान् भनेर सोच्नुु मूर्खता हुनेछ । तसर्थ, खतिवडाका कारण सेयर बजार चौपट हुन्छ वा उनको कार्यकालमा सेयर बजार प्राथमिकतामा पर्दैन भनियो वा अनुमान मात्र गरियो भने पनि त्यो गलत हुनेछ । बरु, सेयर बजारको आडमा ठूलाले गर्ने गरेको चलखेललाई चाहि खरो अर्थशास्त्रीको पहिचान बनाएका उनले निमिट्यान्न गरिदिनसक्छन् । दवाब र प्रभावमा काम गर्ने बजारका नियामकहरुका लागि उनको नियुक्ति टाउको दुखाईको बिषय बन्न सक्छ ।
डा. खतिवडाले देशको अर्थतन्त्रको केस्रा केस्रा केलाएका छन् । उनको दातृ निकायसँगको सम्बन्ध निकै राम्रो छ । बरु उनकै कार्यकालमा देशमा लगानीमैत्री वातावरण बन्ने अपेक्षा गर्न सकिन्छ । वैदेशिक लगानी भित्र्याउन पूँजीबजारको बिषयमा उनले सकारात्मक नभई धरै छैन । ठूलो परिमाणमा वैदेशिक लगानी नआई देशले समृद्धि र आर्थिक विकासको बाटो पक्रन सक्दैन । समग्रमा देउवा सरकारले थिलथिलो बनाइदिएको अर्थतन्त्रलाई तत्काल मल्हमपट्टी लगाउने र त्यसलाई एउटा बलियो लिकमा हिँडाउने ऐतिहासिक जिम्मेवारी डा. खतिवडाको काँधमा आएको छ । यसलाई उनले आफ्नो क्षमता र ज्ञानले भ्याएसम्म निर्वाह गर्ने नै छन् भन्ने अहिले अपेक्षा गरौं ।
यस्तै, डा. खतिवडाले विगतमा नेपाल राष्ट्रबैंकले लिएका गलत नीतिलाई समेत संसोधन गर्न विशेष भूमिका खेल्नेछन् । डा. खतिवडा आफैं पनि गभर्नर भइसकेका कारण उनलाई यो काम गर्न सजिलो पनि छ । डा. खतिवडाले लामो समयदेखि अहिलेका गभर्नर डा. चिरञ्जिवी नेपालको काम गर्ने शैलीलाई मन पराएका छैनन् । अझ बैंक तथा बित्तीय संस्थाहरुको पूँजीवृद्धिका लागि केन्द्रीय बैंकले अपनाएको बाटोको उनी खरो आलोचक पनि हुन् । राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाको पूँजी वृद्धिका लागि अपनाएको गलत बाटोको शिकार अहिलेको बजार भइरहेको कतिपयको बुुझाई छ । केन्द्रीय बैंकको अहिलेको नेतृत्वको काम प्रति डा. खतिवडा खासै सन्तुुष्ट नरहेका उनका यसअघिका धारणाले समेत स्पष्ट पार्छ । त्यसो हुँदा अहिलेका गभर्नर डा. नेपालमाथि पद छाड्ने दवाब पर्न सक्छ । यस्तो अवस्थामा एमाले निकटका राम्रा व्यक्तिलाई गभर्नर बनाई देशलाई उभो लगाउने गरी डा. खतिवडाले राम्रा कामको सुरुवात समेत गर्न सक्छन् । त्यसो हुन सक्यो भने सेयर बजारले पनि राहातको श्वास फेर्न पाउनेछ ।
अर्कोतर्फ, देशमा लगानी बिस्तारको राम्रो नीति बनाउनुपर्नेछ । संघदेखि प्रदेश र स्थानीय निकायसम्मका सरकारहरुका लागि समृद्धिको बाटो देखाउने जिम्मा समेत डा. खतिवडाकै हुनेछ । यसको अर्र्थ उनले राम्रो नीति लिन सके केन्द्रदेखि गाउँसम्म लगानीको वातावरण बन्नेछ, जसले पूँजीबजारलाई थप मजबुत र वृहत गरिदिनेछ । संघ र प्रदेश सरकारलाई विकास र समृद्धिका लागि आवश्यक पूँजी आन्तरिक रुपमा जुटाउनका लागि ऋणपत्रहरुको बाढी आउनसक्छ, जसले सेयर बजारलाई थप चलायमान बनाईदिनेछ । सेयरको पूर्ण स्वचालित कारोबार प्रणाली, बजारमा गैरआवासीय नेपालीहरुको लगानी, सेयर बजारको बिस्तारका लागि स्थानीय निकायसम्म ब्रोकरको उपस्थिति, त्यसका लागि ब्रोकरको काम सबै स्थानीय तहका पुुगेका बैंकहरुलाई समेत गर्न दिने नीति लगायतका बिषयमा डा. खतिवडा नेतृत्वको अर्थमन्त्रालय सकारात्मक नभई धरै छैन ।
यसर्थ, डा. खतिवडा अर्थमन्त्री बन्दैमा लगानीकर्ता अत्तालिनुुपर्ने कुनै कारण नै छैन । बरु, डा. खतिवडाले फेरि एकपटक सरकारमा बसेर आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने भएकोले उनले आर्थिक सुधारका कामहरु निकट भविष्यदेखि नै तीव्र गतिमा बढाउने आशा गरियो भने अन्यथा हुँदैन । आर्थिक सुधार र सुस्ताएको अर्थतन्त्रलाई गति दिन उनको भिजनले जति छिटो काम गर्नसक्छ, उति छिटो पूँजीबजारलाई राहात मिल्नेछ ।
गिरिजा र केपीमा यस्तो समानता
गिरिजाप्रसाद कोइरालाले अर्थशास्त्र पढेका विद्वान डा. रामशरण महतलाई जसरी टिपेर अर्थमन्त्री बनाएका थिए, ओलीले समेत डा. खतिवडालाई त्यसैगरी अर्थमन्त्री बनाएका छन् । देश नेताले चलाए पनि अर्थतन्त्रको सुधार र देशको विकासका लागि भिजन भएको र पढेको अर्थशास्त्री नै चाहिन्छ भन्ने स्व. कोइराला र ओलीको बुुझाईमा समानता देखिएको छ । यहीकारण समेत गिरिजाले तत्कालीन अवस्थामा पार्टीका कतिपय वरिष्ठ नेतालाई समेत पन्छाएर जसरी डा. महतलाई अर्थमन्त्रालयको बागडोर सुम्पिए, ओलीले समेत त्यसै गरेका छन् ।
गिरिजाले जसरी डा. महतलाई विश्वास गरेर ल्याए, ओलीको विश्वास डा. खतिवडामाथि त्यो भन्दा बढी देखिएको छ । डा.महतले अर्थतन्त्रलाई कति न्याय गर्न सके सकेनन् त्यो इतिहासले देखाइसकेको छ । तर, ओलीले गरेको विश्वासलाई डा. खतिवडाले कुन हदसम्म न्याय गर्न सक्छन् र बाम सरकारको समृद्धिको सपनालाई यथार्थमा परिणत गर्न सक्छन्, त्यो चाहि खतिवडाको काम र आगामी दिनले नै देखाउनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago