काठमाण्डौ । कारोबार व्यवस्था प्रणाली (टीएमएस)मा समस्या आएपछि आज लगानीकर्ताहरुले बजार खुलेको सुरुआती समयमा कारोबार गर्नबाट वञ्चित भएका छन्। 

सबै ब्रोकरको टीएमएसमा समस्या आएपछि आज स्पेसल प्रि–ओपन सेसनमा कारोबार भएन भने बजार खुलेको करिब २२ मिनेटसम्म लगानीकर्ताले सेयर किनबेच गर्नबाट वञ्चित भएका छन्। टीएसमएस खुले पनि सेयर किन्ने र बेच्ने अर्डर राख्न नपाउँदा कारोबारमा समस्या देखिएको हो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले प्राविधिक समस्या देखिएका कारण कारोबार अवरुद्ध भएको बताए। ‘अहिले कारोबार सुचारु भइसकेको छ’, उनले भने, ‘प्रणालीमा के समस्या देखिएको हो भन्ने विषयमा प्राविधिक टोलीले अनुसन्धान गर्दैछन्। अहिले नै प्रणालीमा यही समस्या आएको भन्ने यकिन भइसकेको छैन।’

नियमित समयमा करिब २२ मिनेट कारोबार अवरुद्ध भए पनि कारोबार समय थप नगरिने नेप्सेले जनाएको छ। यता लगानीकर्ताहरुले भने सेयर किनेबच गर्न नपाएकोले कारोबार समय थप्नुपर्ने माग गरेका छन्।