काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ ) र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दुई अन्तर्राष्ट्रिय संस्थाहरूलाई 'बब्जी ट्विन्स'को सङ्ज्ञा दिएका छन्।

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा असंयमित रूपमा प्रस्तुत भएका ट्रम्पले विश्वभर फैलिएको कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिबारे बोल्दै यी दुई संगठनको आलोचना गरेका हुन् । लोरा ली होपद्वारा लिखित बच्चाहरूको कथा 'बब्जी ट्विन्स'मा जुम्ल्याहाहरूका दुई जोडी हुन्छन् । जो साहसिक यात्रामा निस्कन्छन् र रोमाञ्चक रहस्यको समाधान निकाल्छन्।

अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग कटौती गर्ने विषयमा सञ्चारकर्मीले जिज्ञासामा ट्रम्पले भने, 'यो हप्ताको अन्त्यतिर भन्नेछु, म त्यसबारे निर्णय गर्न लागेको छु।'

ट्रम्पले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरूको आक्रोशपूर्ण ढङ्गले बचाउ पनि गरे। ट्रम्पले भेन्टिलेटर चाहिएकाहरूलाई दिइएको दाबी गरे । 

सञ्चारकर्मीहरुले कोरोनालाई लिएर दिइएको चेतावनीलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरे। अमेरिकाले गरेका गल्तीहरूको कुरा गर्नुपर्दा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले राज्यका प्रयोगशालाहरूलाई त्रुटिपूर्ण परीक्षणहरू गर्न लगायो जसका कारण कोरोनाभाइरस नियन्त्रणमा ढिलाइ हुन पुग्यो।

देशभरिका चिकित्सक तथा अस्पतालहरूले चिकित्सकीय सामग्रीको अभाव रहेको औँल्याएका थिए। राष्ट्रपति ट्रम्पले आफ्ना उच्च स्वास्थ्य अधिकारीहरूलाई फरकफरक सुझावहरू दिइरहे।

कोरोनाभाइरसलाई लिएर अमेरिकाले गरेका राम्रा कामहरू भन्नुपर्दा २० खर्ब डलर बराबरको राहत कार्यक्रम ल्यायो। अमेरिकास्थित औषधि उत्पादकलगायत कम्पनीहरू कोरोनाभाइरसको उपचार र त्यसका लागि खोपको विकाससम्बन्धी अनुसन्धानमा अगाडि देखिएका छन्।

अमेरिकी सङ्घीय प्रणालीको फाइदा उठाउँदै अधिकांश राज्यका नेताहरूले कोरोनाभाइरस नियन्त्रणको दिशामा निर्णायक कदमहरू चालेका छन्।

गभर्नरहरूले लकडाउन कहिले हटाउने भन्ने अधिकार प्रशासनसँग रहेको ट्रम्पले उल्लेख गरे। तर कानुनविद्हरूले त्यो अधिकार खासमा राज्यहरूसँग रहेको तर्क गरेका छन्।

अमेरिकी राज्यहरूले राष्ट्रपतिको अनुमोदनविना केही पनि गर्न नसक्ने ट्रम्पको भनाइ छ।

हाल संयुक्त राज्य अमेरिकामा पाँच लाख ७७ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमणका घटना देखिएका छन् भने २३ हजार व्यक्तिको ज्यान गएको छ। जुन अन्य देशको तुलनामा सबैभन्दा बढी हो।