काठमाण्डौ । ट्विटरपछि सामाजिक सञ्जाल कम्पनी फेसबुकले पनि ठूलो मात्रामा कर्मचारी कटौती गर्ने तयारी गरिरहेको छ। 

मिडिया रिपोर्टहरुका अनुसार फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म्स इंकले हजारौँ कर्मचारीलाई हटाउने तयारी गरेको हो। यो काम बुधबारदेखि सुरु हुँदैछ। 

कम्पनीले विश्वभर १२ हजार कर्मचारीलाई हटाउन सक्छ। मेटाले हाल लगभग ८७ हजार कर्मचारीलाई रोजगार दिएको छ। 

यसअघि शुक्रबार ट्विटरले विश्वभर ३ हजार ७०० कर्मचारीलाई हटाएको थियो। यसपछि कम्पनीमा कर्मचारीको संख्या आधाले घटेको छ। 

विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले अक्टोबरको अन्त्यमा ट्विटर किन्नका लागि सम्झौता पूरा गरेका सिथए। त्यसपछि कम्पनीले आधा कर्मचारीलाई बर्खास्त गरेको थियो।

मस्कपछि मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग पनि ठूलो संख्यामा कर्मचारी कटौतीको तयारीमा छन्। यो वर्ष कम्पनीको सेयर ७३ प्रतिशतले घटेको छ। 

फेसबुक (अहिले मेटा प्लेटफर्म)को अहिले टिकटक र युट्युबजस्ता प्लेटफर्मबाट कडा प्रतिस्पर्धा भइरहेको छ। यो १८ वर्ष पुरानो कम्पनीबाट प्रयोगकर्ताहरु टिकटक र युट्युबतिर सर्दैछन्। जसका कारण कम्पनीको आम्दानीमा नराम्रो असर परेको छ। 

यो वर्ष कम्पनीको सेयरमा भारी गिरावट आएको छ। कम्पनीले यसअघि नै नयाँ कर्मचारी भर्नामा रोक लगाएको थियो। अब ठूलो कटौती गर्ने भएको छ।

मार्क जुकरबर्गको मेटा प्लेटफर्ममा लगभग १६.८ प्रतिशत सेयर छ। फेसबुकको आम्दानीको ९७ प्रतिशतभन्दा बढी विज्ञापनबाट आउँछ। कम्पनीको सेयरमा आएको गिरावटका कारण जुकरबर्गको नेटवर्थमा पनि भारी गिरावट आएको छ। कुनै समय उनी विश्वका धनीहरुको सूचीमा तेस्रो नम्बरमा थिए तर अहिले उनी २९ औँ नम्बरमा झरेका छन्। उनको कुल सम्पत्ति यो वर्ष ९०.३ अर्ब डलरले घटेर ३५.२ अर्ब डलर झरेको छ। 

सेयरमा आएको गिरावटका कारण फेसबुकको मार्केट क्याप पनि नराम्ररी घटेको छ। यो वर्ष कम्पनीको बजार मूल्य ५०० अर्ब डलरले घटेको छ। –एजेन्सी