काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको ट्रेड म्यानेजमेन्ट सिस्टमभित्रको एउटा कमजोरीको फाइदा उठाउँदै बजारमा तीव्र चलखेल गर्नेहरुको खेल अन्त हुने भएको छ ।
बजारको नियामक धितोपत्र बोर्डले नेप्सेको टिएमएसमा रहेको अल अर नन्(एओएन-AON) सुविधा हटाउन नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेसँगै ठूलो कित्ता सेयर राखेर खरीद तथा बिक्रीतर्फ कृत्रिम चाप सिर्जना गरी सूचीकृत कम्पनीको सेयरमूल्यमा चलखेल गर्नेहरुको बाटो बन्द हुने भएको हो ।
बोर्डका एक उच्च अधिकारीले टिएमएसमा रहेको अल अर नन्(कि त सबै देउ, नभए दिंदै नदेऊ)को सुविधा हट्ने जानकारी दिए ।
यो सुबिधाले सेयर बजारमा एकैपटक ठूलो परिमाणमा खरिद तथा बिक्री अर्डर राखेर लगानीकर्तालाई भ्रममा पार्ने काम भएको गुनासोका पटक-पटक आएको थियो । अनुसन्धानका क्रममा केही ठूला लगानीकर्ताले टिएमएसको यो सुविधाको दुरुपयोग गर्दै सेयरमूल्यमा मनलागी चलखेल गरेका भेटिएको थियो । 'यो फिचर्सअन्तर्गत खरिद तथा बिक्रीको सेयर अर्डर बराबर नै माग तथा आपूर्ति नभएसम्म कारोबार गर्न मिल्दैन थियो ।' बोर्डका ती उच्च अधिकारीले बिजशालासँग भने-'यस्तो हुँदा मार्केट डेप्थमा अप्राकृतिक अर्डर बस्ने र सर्बसाधारण झुक्किन्थे । अब भने गलत नियत राखेर कसैले पनि अर्डर राख्नसक्ने छैन ।'
उनकाअनुसार आइतबारदेखि नै यो सुविधा हट्नेछ ।
पछिल्लो समय ठूला लगानीकर्ताहरुले एओएनभित्र गएर खरीद तथा बिक्रीतर्फ एकैपटक ठूलो परिमाणको सेयर कित्ता राख्ने गरेका थिए । उदाहरणका लागि कसैले कुनै कम्पनीको सेयर २०१ रुपैयाँमा किन्ने भन्दै १ लाख कित्ता बाई अर्डरमा राखिदिन्थ्यो । त्यति नै मूल्यमा सेल अर्डरतर्फ कुल १ लाख सेयर जम्मा नभई उसको कारोबार हुँदैन थियो।
यस्तै, कुनै कम्पनीको सेयर २०१ रुपैयाँमा बिक्री गर्ने भन्दै कसैले १ लाख कित्ता सेल अर्डरमा राखिदिन्थ्यो । खरीदतर्फ पनि २०१ रुपैयाँमै १ लाख कित्तासम्मको अर्डर नआउञ्जेल टुक्रा-टुक्रामा कारोबार गर्न नमिल्ने यो फिचर्सको सुविधा थियो । यसरी कुनै कम्पनीको मूल्य बढाउन चाहनेले आप्राकृतिक रुपमा एओएन प्रयोग गरी ठूलो कित्ता बाई अर्डरतर्फ पोस्ट गरेर खरीद चाप देखाउने र मूल्य घटाउनु परे ठूलो कित्ता सेल अर्डरमा राखेर बिक्री चाप बढाउने अभ्यास हुँदै आएको थियो ।
पछिल्लो समय गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको सेयरमूल्य पनि यही सुविधाको दुरुपयोग गरेर माथि पुर्याइएको अनुसन्धानको क्रममा देखिएपछि यो सुविधालाई नै बन्द गर्ने निश्कर्षमा बोर्ड पुगेको हो ।
अब के हुन्छ ?
यो सुविधा हटेसँगै अब भने ठूला लगानीकर्ताले पनि सर्वसाधारणले झै कारोबार गर्नुपर्नेछ । अब कसैले १ लाख कित्ता बाई अर्डरमा राख्यो र उसले अर्डर गरेको मूल्यमा ५०० कित्ता कसैले बिक्री गर्दैछ भने त्यति नै कित्ता समेत अब तुरुन्तै कारोबार हुनेछ ।
यस्तै, कसैले १ लाख कित्ता सेल अर्डरमा राख्यो र कसैले ५०० कित्ता सोही मूल्यसँग मिल्ने गरी बाई अर्डर राख्यो भने त्यसको पनि तत्कालै कारोबार हुनेछ । अर्थात पहिलाको एकैपटक कारोबार हुने व्यवस्था हटी मूल्य म्याचिङ भएपछि अब टुक्रा टुक्रामा पनि कारोबार हुनेछ ।
'यो फिचर्स ठूलाले मात्र चलाउँथे र चलखेल गर्थे ।' बोर्डका ती अधिकारीले भने-'सानालाई यो सुविधाको विषयमा थाहा थिएन वा मतलबै थिएन ।'
ब्रोकर एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले एओएन हटाउने व्यवस्थालाई राम्रो काम भनेका छन् । यसमा सेल अर्डरमा मात्रै राखेर बाई साइडमा हटाउँदा अझ राम्रो हुन उनको तर्क छ । 'यसले चलखेल रोक्छ ।' रानाभाटले भने-'अर्को फाइदा भनेको १० कित्ता भन्दा तल पनि कारोबार गर्न मिल्ने हुनु पर्यो अथवा १० भन्दा तलको कित्ता कारोबार गर्दा बाँकी कित्ता रहन भएन । यसो भएमा यो अझै राम्रो हुने थियो ।'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago