काठमाण्डौ । बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचक १.३७ अंकले बढेको हो । 

बजारको यो सुधार झिनो हो । यसले बजार सुधारका लागि ठूलो भूमिका खेल्दैन । 

पछिल्लो समय ठूला लगानीकर्ता सरकारको बजार तथा आर्थिक नीतिप्रति विश्वस्त हुन सकेका छैनन् । आफ्ना लगानीको सुरक्षा हुनसक्ने बिषयमा समेत उनीहरु विश्वस्त छैनन् । कम्युनिष्ट सरकारप्रति ठूला लगानीकर्ताको अविश्वासकै कारण लामो समयसम्म पनि बजार अपेक्षित रुपमा माथि जान नसकेको विश्लेषकहरु बताउँछन् । 

यसबाहेक अर्थमन्त्रालयमा अड्किएर बसेको हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत लाभकर लाग्ने भन्ने स्थगित निर्णयको बिषयमा सरकारले निश्कर्ष दिन ढिलाई गरिरहेको छ । यसले समेत बजारमा नकारात्मक प्रभाव पारेको छ । 

अर्कोतर्फ, बैंक तथा बित्तीय संस्थाहरुले ब्याजदर घटाइरहेका छैनन् । सेयर बजार र ब्याजदरको उल्टो सम्बन्ध हुन्छ । ब्याजदर घट्दा बजार बढ्छ भने ब्याजदर बढ्दा बजार घट्छ । अहिले अवस्था ठ्याक्कै यस्तै देखिएको छ । बैंकहरुले ब्याजदर नघटाउँदा त्यस्ता संस्थाबाट ऋण लिएर बजारमा लगानी गर्नेहरु हतोत्साही भएका छन् । योसँगै मौद्रिक नीतिले व्यक्तिगत ओडीको सीमा ७५ लाखबाट घटाएर ५० लाखमा झारिदिएका कारण समेत यसले ठूला लगानीकर्ताको लगानी रफ्तार घटाइदिएको छ । यसले समेत बजारमा उत्साह देखिन सकेको छैन । 

नेप्से परिसूचकमा झिनो सुधार आएको यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१५ अंकको बढोत्तरी देखियो । 

यो दिन तीनवटा समूहको परिसूचकमा झिनो गिरावट भए पनि बाँकी सबै समूहको परिसूचकमा सुधार देखियो । 

जलविद्युत समूह ३.०४ अंकले घटेको यो दिन जीवन बिमा समूह ३१.०३ र अन्य समूह ०.८ अंकले घटे । 

यो दिन बैंकिङ समूह १.८९ अंकले बढ्यो भने विकास बैंक, निर्जीवन बिमा, माइक्रोफाइनान्स समूहमा क्रमशः ८.६७, ५.९४ र २.९२ अंकको बढोत्तरी भयो । यो दिन होटल समूह १२.२४ अंकले बढ्यो भने बित्त समूह १.४२ अंक, उत्पादनमूलक १२.२६ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५४ कम्पनीका ६ लाख २२ हजार ८ सय १ कित्ता सेयर १९ करोड ५ लाख १३ हजार ९ सय ९६ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योेरेन्सले १ करोड ६३ लाख बढीको कारोबार गर्यो । 

एनएमबी बैंकले १ करोड ४२ लाख, एनएलजी इन्स्योरेन्सले १ करोड ४ लाख, महालक्ष्मी विकास बैंकले ९२ लाख, सिद्धार्थ बैंकले ६९ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६८ लाख, एनआइसी एशियाले ६३ लाख, नवील बैंकले ५७ लाख, इन्भेष्टमेन्ट बैंकले ५१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो । एनआइसी एशियाका लगानीकर्ताले ३.८३ प्रतिशतको दरले सम्पत्ति बढाए । 

यो दिन समीट माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ३.४० प्रतिशतले घट्यो ।