काठमाण्डौ । डडेल्धुराको सदरमुकाम बाघखोरस्थित डडेल्धुरा बहुमुखी क्यामपसको क्वारेन्टाइनमा राखिएका ६ वर्षे एक बालकको आइतबार बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा डडेल्धुराकै नवदुर्गा गाउँपालिका–३ का बालक रहेका छन्। आमाबुबासँगै शनिबार गौरीफन्टा नाका भएर आएका तीनै आमाबाबु र छोरालाई आइतबार गाउँ लैजाने गरी डडेल्धुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो। 

राति बालक अचानक बिरामी भएपछि डडेल्धुरा अस्पताल लगिएको र आइतबार बिहान ३ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

बालकको स्वाब नमुना लिएर आजै पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाइने डडेल्धुरा अस्पतालले जनाएको छ।