– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । शिखर इन्स्योरेन्स नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमध्ये एउटा हो। शिखर इन्स्योरेन्सले गएको गत आर्थिक वर्षमा ३० प्रतिशत हकप्रद जारी गरेको थियो। हकप्रद बिक्रीपछि शिखर इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ७५ करोड ५५ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ छ। यो अवधिसम्म कम्पनीले ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

कम्पनीको ईपीएस २७.६४ रुपैयाँ, पीई रेसियोन ३० गुणा र प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ रहेको छ।

कम्पनीले हालै निर्जीवन कम्पनीहरुमा सबैभन्दा बढी  ५०१ करोड रुपैयाँ कुल प्रिमियम शुल्क आर्जन गरेका दाबी गरेको छ। यस्तो शुल्क अघिल्लो आर्थिक वर्ष जम्मा ३९७ करोड रुपैयाँमात्रै थियो। यो भनेको २६.१९ प्रतिशतले बढी हो। 

विगत ७ वर्षमा कम्पनीले वार्षिक औसत ३३ प्रतिशत लाभांश वितरण गरेको छ। 

प्राविधिक पक्ष

शिखरको सेयरमूल्यलाई चार्टमा हेर्दा गएको ६ महिनामा ५० प्रतिशतको गिरावटसहित १६०० बाट ८०० को आसपास आएको छ। कम्पनीको सेयरमूल्यलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा पछिल्लो समयमा बोलिंगर ब्यान्डको मध्य ब्यान्डमै सपोर्ट लिएको देखिन्छ। आजको कारोबारमा स्पिनिङ टप क्यान्डल बनाएको छ। 

म्याक्डीमा गत २६ जुनमा बनेको बुलिस क्रसओभर अझै पनि भ्यालिड नै रहेको पाइन्छ। हिस्टोग्राम पोजेटिभ र लामा–लामा हुँदै गएको देखिन्छ। आरएसआई न्यून विन्दु १६ को तहमा आएर हाल ५२ को न्युट्रल जोनमा रहेको छ। अघिल्लोपटक यस्तो विन्दु बढ्दा ८० को तहसम्म पुगेको थियो।

कम्पनीको मूल्यरेखाले ६ महिनामै पहिलोपटक लामो समय मध्य ब्यान्डभन्दा माथि लामो समय सपोर्ट लिएका कारण कम्पनीको सेयरमूल्यले यूटर्न लिँदै गरेको अनुमान लगााउन सकिन्छ। 

सुपर ट्रेन्डका आधारमा

सुपर ट्रेन्डका आधारमा यो कम्पनीको विश्लेषण गर्नुपर्दा कम्पनीको मूल्यरेखालाई सुपर ट्रेन्डको लाइनले तलबाट काटेर माथि गएको छ र रातो रङ बनेको छ। यस आधारमा कम्पनीको सेयरमूल्य बुलिस नभइसकेको देखिन्छ। यदि कम्पनीको सेयरमूल्यले अप ट्रेन्ड लिन्छ भने हालको मूल्यबाट बढोत्तरीका साथ ८८० रुपैयाँभन्दा माथि जानुपर्ने हुन्छ। सुपर ट्रेन्डको रङ पनि रातोबाट परिवर्तन हरियो हुनुपर्ने हुन्छ। मूल्यरेखाहरु सुपर ट्रेन्डभन्दा माथि–माथि भएर कारोबार हुनुपर्ने हुन्छ।

डबल बटमका आधारमा

डबल बटम भनेको यदि कम्पनी तथा नेप्से सूचक एकपटक घटेर बढेपछि पुनः त्यही विन्दु तथा मूल्यमा पुग्छ र पुनः उकालो यात्रा तय गरेर ‘डब्ल्यू’ आकार बनाउँछ भने त्यसलाई डबल बटम बनाउँदै गरेको भनेर बुझिन्छ। यो कम्पनीको सेयरमूल्यले ७०० रुपैयाँमा एकपटक न्यून विन्दु बनाएको थियो। त्यसपछि बढोत्तरीका साथ पुनः ८८० रुपैयाँसम्म पुगेको यो कम्पनीको सेयरभाउ फेरि घटेर ७५० सम्म झरेको थियो। पुनः हाल बढोत्तरीका साथ आज  ८३५ रुपैयाँ बन्द भएको छ। यसरी कम्पनीको मूल्यको उतारचढावलाई नियाल्दा मूल्यरेखाले डबल बटम बनाउँदै गरेको देखिन्छ। यदि भविष्यमा कम्पनीको मूल्य बढेर ८८० रुपैयाँभन्दा माथि जान्छ भने ब्रेकआउट हुँदै गरेको बुझिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

निष्कर्ष

यो कम्पनीको सेयरमूल्य पनि अन्य कम्पनीजस्तै ६ महिनाको छोटो समयमा नै ५० प्रतिशतले गिरावट आएको छ। आधारभूत रुपमा पनि निर्जीवन बीमा कम्पनीमा राम्रै प्रतिफल र प्रगति गरेको यो कम्पनी मजबुत नै देखिन्छ। पछिल्लोपटक ५०१ करोड प्रिमियम उठाएर चर्चामा रहेको यो कम्पनीको सेयरमूल्यलाई प्राविधिक रुपमा हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्डमै सपोर्ट लिएको देखिन्छ। 

सुपर ट्रेन्डले भने अहिले नै बुलिस नभइसकेको देखिन्छ। यो कम्पनीको सेयरमूल्यले भने डबल बटम बनाउँदै गरेको देखिन्छ। यदि आगामी दिनमा ८८० रुपैयाँभन्दा माथि कम्पनीको सेयरमूल्य लागेमा बुलिस यात्रामा रहेको बुझिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण  हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।