काठमाण्डौ । साताको पहिलो कारोबार दिनदेखि सुरु भएको बजारको गिरावट यात्रा बिहीबार पनि जारी रह्यो । यो दिन नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ को विन्दूमा सीमित बन्न पुग्यो। 

चुलिँदो राजनीतिक अन्यौल र समस्याग्रस्त बन्दै गएको अर्थतन्त्रका कारण अलमलमा परेका लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजारमा आज पनि बिक्री–चाप देखिएको हो । किन्नेभन्दा बिक्री गरी बजारबाट बाहिरिने संख्या बढ्दा आज पनि बजारमा गिरावट देखिएको हो । 

बजार जानकार यज्ञ घिमिरे राष्ट्रपतिको सन्निकट निर्वाचनका कारण सत्ता गठबन्धनमा देखिएको दरार र सरकार नै परिवर्तन हुनसक्ने अवस्थाका कारण लगानीकर्तामा त्रास देखिँदा त्यसको प्रभाव बजारमा परेको दाबी गर्छन् । ‘एकातिर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोंचेजस्तो भएन भने अर्कोतिर सरकार परिवर्तन हुने डरले पनि बजारका लगानीकर्ताको मनोबल कमजोर बनाउने भूमिका खेलेको देखिन्छ ।’ उनले भने–‘यस्तै, ऋणको ब्याजदर पनि अपेक्षा गरेअनुसार नघट्दा लगानीकर्ता थप डराए ।’ 

यो बीचमा मुद्रास्फिति पनि बाञ्छित सीमाभित्र नरहेका कारण साना लगानीकर्ताहरुले सेयर बेचिरहँदा नेप्से निरन्तर घटेको उनको दाबी छ । तर, उनले अलटाइम हाईको विन्दूबाट बजार धेरै तल रहेकोले ‘बाउन्सब्याक’ अनिवार्य रहेको उल्लेख गर्दै नअत्तालिन लगानीकर्तालाई आग्रह गरे । 

अर्का बजार जानकार सूर्यनारायण पौडेल राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अपेक्षित नभएको र यहीबेला सरकार पनि धरमरमा हुँदा त्यसबाट लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेको बताउँछन् । उनले हाल बजार साइडवेजमा रहे पनि नेप्से परिसूचक २००० भन्दा तल भने नआउने दाबी गरे । उनको विश्लेषणमा अहिलेको अन्यौलपूर्ण राजनीतिले निकास पाएसँगै बजार दमदार ढंगले अगाडि बढ्नेछ । 

बजारमा पछिल्ला केही कारणहरु देखाएर खेलाडीहरुले चाहिनेभन्दा बढी हौवा पिटेका कारण समेत बजार प्रभावित बन्न पुगेको उनको धारणा छ । ‘बैंकिङ प्रणालीमा निक्षेप राम्रो अवस्थामा छ । तरलतामा सुधारसँगै ब्याजदर पनि क्रमशः घट्ने देखिन्छ ।’ उनले थपे–‘अहिले बजारमा ट्रेडर हाबी छन् । इन्भेष्टर्स हाबी हुन थालेपछि अवस्था फेरिनेछ ।’ 

आज के–के भयो बजारमा ?
यो दिन कारोबार रकम १ अर्ब ६८ करोडमा सीमित बन्न पुग्यो । 

कारोबारमा आएका कम्पनीमध्ये १९७ को मूल्य घट्यो भने १५ वटाको मूल्य बढ्दा बाँकी ४ वटा कम्पनीको पनि स्थिर रह्यो । 

यो दिन बजारका सबै उपसमूहको परिसूचक रातो भए । बैंकिङ समूह ८.६५ अंकले घटेको यो दिन विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स समूहमा क्रमशः ४६.०६ अंक, २५.५१ तथा ५६.३७ अंकको गिरावट आयो । 

जीवन बीमा समूह १४४.०९ अंकले घटेको यो दिन निर्जीवन बीमा समूहमा १२४.०२ अंक, व्यापार समूहमा ३३.९१ अंक, उत्पादन तथा प्रशोधन समूह १०१.२१ अंक तथा होटल र टुरिजम समूह ३९.४० अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन हिमालयन डिस्टीलरीले सबैभन्दा बढी ५ करोड ३८ लाख रुपैयाँको कारोबार गर्यो । 

अपी पावर कम्पनीले ५ करोड १३ लाख, ङादी ग्रुप पावर लिमीटेडले ४ करोड ३६ लाख, महिला लघुवित्तले ४ करोड तथा नवील बैंकले ३ करोड ८४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सानिमा लार्ज क्याप फण्ड नामको म्युचुअल फण्डको इकाईको मूल्य सबैभन्दा बढी ७.६५ प्रतिशतले बढ्न पुग्यो । 

राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमीटेडको सेयरमूल्य ५.२३ प्रतिशतले बढेको यो दिन प्रभू सेलेक्ट फण्ड र सबैको लघुवित्तका सेयर(इकाई) धनीले २ प्रतिशतभन्दा बढीले सम्पत्ति थपे । 

हिजो सबैभन्दा बढी मूल्य बढेको युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै सम्पत्ति गुमाए । यो कम्पनीको सेयरमूल्य  ६ प्रतिशत हाराहारीमा घट्न पुग्यो । 

सिटीजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य तथा सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य साढे ५ प्रतिशत हाराहारीमा घट्न पुग्यो ।