काठमाण्डौ । परीक्षार्थीहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ। 

आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी)बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त आह्वान गरेको हो। 

आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका परीक्षार्थीहरुका लागि पुनः दरखास्त दिन आह्वान गरेको छ। सम्बन्धित परीक्षार्थीहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेस गरिसक्नुपर्नेछ। पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने आयोगले जनाएको छ। 

पुनः दरखास्त दिँदा परीक्षार्थीले पहिले जुन समूहको विज्ञापनमा आवेदन दिएका थिए, सोही समूहको विज्ञापनमा मात्र आवेदन दिन पाउनेछन्। पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ। 

यसका साथै साविकमा स्वीकृत हुन बाँकी रहेका दरखास्तसँग सम्बन्धित पुनः दरखास्तहरु जाँच गरी यथाशीघ्र स्वीकृतिको कार्य सम्पन्न गर्ने पनि आयोगले जनाएको छ। 

दरखास्त स्वीकृत भएको जानकारी सम्बन्धित उम्मेदवारहरुले एसएमएसबाट प्राप्त गर्नेछन्। दरखास्त स्वीकृत भएपछि नयाँ रोल नम्बरसहितको प्रवेशपत्र जारी हुनेछ।

डाटा रिकभरीको प्रयास भइरहेको तर यो प्रक्रिया कहिलेसम्म पूरा हुने र के–कति डाटा रिकभरी हुने यकिन गर्न नसकिने भएकाले २०८० साल जेठ महिनादेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित भएको आयोगद्वारा जारी सूचनामा उल्लेख छ।