काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीले नेपालको सेयर बजारमा डेरिभेटिभ मार्केट सञ्चालन गर्ने विषयमा अध्ययन गर्न विज्ञसँग छलफल गरिने बताएका छन्। 

आजबाट ‘पोसिबिलिटी अफ फाइनान्सियल डेरिभेटिभ इन नेपाली क्यापिटल मार्केट वर्कसप’लाई सम्बोधन गर्दै सीईओ कार्कीले डेरिभेटिभ मार्केट सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउने विषयमा अध्ययन गर्न विज्ञहरुसँग छलफल गर्न लागिएको बताएका हुन्। 

बजारको विकास अब एक प्रकारको प्रडक्ट (इक्विटी) मात्र सञ्चालनले नहुने कार्कीको भनाइ थियो। ‘बजारको आकार बढेको छ, डेरिभेटिभ मार्केटको माग बढेको छ’, उनले भने, ‘त्यसैले यस विषयमा थप अध्ययन गर्ने जिम्मा विज्ञहरुसँग छलफल गर्न लागेका हौँ।’
सीईओको कार्कीले बीएसईको सहकार्यमा सम्भावना र चुनौतीका बारेमा विज्ञसँग दुई दिनको छलफल राखिएको पनि बताए। 

सीईओ कार्की अक्सन मार्केटको प्रक्रिया पनि अगाडि बढाइसकेको बताए। ‘अहिले पनि क्लोजआउटको समस्या धेरै देखिएको छ’, उनले भने, ‘त्यसैले यो समस्या समाधान गर्न नेप्सेले अक्सन मार्केट सञ्चालन गर्ने प्रक्रिया पनि अगाडि बढाएका छौँ।’