काठमाण्डौ । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भए पनि आर्थिक क्रियाकलापहरु अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका सम्भावित उपायहरुका विषयमा उक्त भेटघाट तथा छलफल केन्द्रित रहेको थियो। छलफलका क्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले राष्ट्र बैंकमार्फत हालैमात्र जारी चालु आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनीय सुधार भएको भए पनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीतिजस्ता क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराए।
वर्तमान विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापले गतिशीलता प्राप्त गर्ने विषयमा जोड दिँदै अध्यक्ष गोल्यानले बाफियाको व्यवस्थाबमोजिम संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालु पुँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिँदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझावपत्र पेस गरे।
अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेस समिट आयोजना हुन लागेको र उक्त समिटमा राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु नामक बहुपयोगी अध्ययनमूलक पुस्तक गभर्नरसमक्ष हस्तान्तरण गरे। विगतमा छिमेकी राष्ट्रहरुको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आमजनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेस गरेका सुझावहरुको औचित्य, आवश्यकता र महत्वलाई हृदयगंम गरी सोहीअनुसारको नीतिगत व्यवस्थाका लागि गभर्नरसमक्ष विशेष आग्रह गरे।
छलफलमा गभर्नर महाप्रसाद अधिकारीले बाह्य परिसूचकहरुमा संतोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किदै गरेको विषयमा चर्चा गर्दै, आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्ककनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरु अपनाउँदै जाने बताए। राष्ट्र बैंकप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशिल बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरु उत्तिकै गम्भीर र जिम्मवार हुन आवश्यक रहेको आँैल्याए।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा देखा परेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आमउद्यम–व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति चासो व्यक्त गर्दै गभर्नर अधिकारीले त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा सचेत रहेको उल्लेख गरे।
सिबिफिनले संस्थागतरुपमा समसामयिक विषयहरुमा आवश्यकताअनुसार छलफल तथा बहस चलाउँदै, अध्ययन एव. विश्लेषणका आधारमा महत्वपूर्ण सुझाव राख्दै आएको कार्यप्रति धन्यवाद व्यक्त गर्दै गभर्नर अधिकारीले उल्लेखित सुझावहरुको विषयमा राष्ट्र बैंकले समयानुकुल निर्णय लिने बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19