काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्री तत्काल राष्ट्रिय पुँजी निर्माण हुने सम्भावना कम रहेको बताएका छन्। 

प्रेस सेन्टर ललितपुरको चौथो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले तत्काल राष्ट्रिय पुँजी निर्माण हुने सम्भावना कम रहेको उल्लेख गर्दै पहिले सामुदायिक पुँजी निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्। उनले व्यक्तिगत प्रतिस्पर्धाहरुलाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्ने बताए। 

अर्थमन्त्री शर्माले सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरु जोडिनुपर्नेमा जोड दिए। पत्रकारिता पेसामात्र नभएर अरु हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारहरूको सहकारी समूह बनाउन सकिने उनको भनाइ थियो। 

‘पत्रकारितामात्र पूर्ण पेसा नभएर अरू हिसाबले पनि आत्मनिर्भर हुनका लागि पत्रकारहरुको सहकारी समूह बनाएर तपाइँहरु सञ्चालन गर्न सक्नुहुन्छ’, शर्माले भने, ‘एकातिर आत्मनिर्भर हुँदै पनि जाने र सामुदायिक शक्ति तथा क्षमतालाई पनि विकास गर्दै जाने गर्न सक्नुहुन्छ । त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिन्छ।’