काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले हाल बैंकिङ प्रणालीमा देखिएको तरलता(लगानीयोग्य रकम)को चरम संकट समाधान हुने गरी मौद्रिक नीति आउने दाबी गरेका छन् । 

आइएमई लिमीटेडको २२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा निजी क्षेत्रका प्रतिनिधिले तरलता सहज नभएको गुनासो गरेपछि त्यसलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

‘तरलता सहज हुने गरी हामीले सकेजति नीतिगत कुराहरुलाई बजेटमा समेटेका छौं । अब बजेटले लिएको लक्ष्य पूरा हुने गरी राष्ट्रबैंकले मौद्रिक नीति बनाउँछ भन्ने लागेको छ ।’ उनले थपे–‘हामीले बनाएका नीतिगत कुरा सम्बोधन हुने गरी राष्ट्रबैंकले अबको मौद्रिक नीति ल्याउनुपर्नेछ । यहाँ राष्ट्रबैंकका प्रतिनिधि पनि हुनुहुन्छ, व्यसायीले भनेका कुरा उहाँले सुन्नुभएकै छ ।’

उनले सम्भव भएसम्म सबै कुराहरुमा सुधार गरी मौद्रिक नीति बनाउन राष्ट्रबैंक सोही मञ्चबाट निर्देशन समेत दिए । 

उनले सरकारले समेत आगामी दिनमा तरलता सहज हुने गरी विभिन्न क्षेत्रमा लगानी भित्र्याउने काममा ध्यान केन्द्रीत गर्ने बताए । ‘अब हामी विभिन्न क्षेत्रमा लगानी भित्र्याउनेछौं । पूर्वाधार, आइटी लगायतका क्षेत्रमा सकेजति लगानी भित्र्याउनेछौं ।' उनले थपे-'हामीसँग भएको पूँजीको सही परिचालनबाट समेत तरलता सहज बनाउने हाम्रो योजना छ ।' 

उनले आइटीमा अन्य देश धेरै अगाडि बढे पनि नेपाल पछाडि परेको गुनासो गरे । यो क्षेत्रमा सवल जनशक्ति निर्माणमा गम्भीर बन्नुपर्नेमा जोड दिए । 

सरकारले बजेटमार्फत ८ प्रतिशतको जीडीपी ग्रोथको लक्ष्य लिएको विषयमा उठेको प्रसङ्गलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपाली नागरिक र देशको आवश्यकताका आधारमा यस्तो प्रक्षेपण गरिएको तर्क गरे । 

‘बजेटमार्फत ल्याइएका नीतिहरु थोपर्ने उद्देश्यले ल्याइएका होइनन् ।’ उनले भने–‘आवश्यकताका आधारमा आएका नीति हुन् । सोही आधारमा गरिएका प्रक्षेपण र बनाइएका लक्ष्यहरु हुन् । त्यसकारण यसमा आलोचना भए पनि त्यो गर्नुपर्छ भनेर हामी अगाडि बढ्न खोजेका छौं ।’ 

उनले अझै पनि विदेशबाट करिब ४० प्रतिशत रेमिटान्स हुण्डीमार्फत नेपाल भित्रिने गरेको उल्लेख गर्दै यसलाई औपचारिक च्यानलमा ल्याउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुन आवश्यक रहेको बताए । ‘कोरियाबाट २५ प्रतिशत रेमिटान्स मात्र औपचारिक च्यानलबाट आइरहेको छ । समग्रमा ६० प्रतिशत रेमिटान्स मात्र सही ढंगले आउने गरेको रहेछ ।’ उनले थपे–‘सरकारको ध्यान हुण्डी नियन्त्रणतर्फ पनि छ । यसमा आइएमई समूह जस्ता निजी क्षेत्रका घरानाहरुले हामीलाई साथ दिनुपर्छ ।’ 

उनले निकट भविष्यमै राष्ट्रबैंकको सहजीकरणमा विदेशमा श्रम गर्नेले आफ्नो मोवाइल वालेटबाट सहजै रेमिटान्सको रकम नेपालमा रहेका प्रियजनलाई पठाउने सुविधाको विकास गरिने समेत घोषणा गरे । 

उनले विदेशमा काम गरेर रेमिटान्स पठाउनेहरुको सहुलियत र प्राथमिकताका लागि बजेटमा धेरै कुरा आएका उल्लेख गर्दै गैरआवासीय नेपालीहरुलाई नेपालका लागि लगानी जुटाउने काममा हातेमालो गर्न आह्वान समेत गरे ।