काठमाण्डौ । बैकिङ प्रणालीमा तरलता अधिक भएको र अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल झरेको सकारात्मक खबरले सोमबार सेयर बजारमा उत्साह देखिएको छ । तरलता सहज भएसँगै बैंकहरुले ब्याजदर घटाउन थालेपछि र थोरै दरमा ऋण पाइने संभावना बढेपछि लगानीकर्ता बजारमा सेयर खरीदका लागि हौसिएका छन् । कतिपय लगानीकर्ताहरुले पुस मसान्तउन्मुख बजारमा राम्रा कम्पनीको सेयर खरिद गरी दोश्रो त्रैमासको संभावित उत्साहजनक बित्तीय विवरणबाट लाभ लिन खोजेको समेत देखिन्छ ।

बजार परिसूचकसँगै कारोबार रकम बढ्नुले भविष्यमा बजार बढ्ने शुभ संकेत गर्ने विश्लेषकहरु मान्छन् । सोमबारमा बजारमा देखिएको प्रवृति केही दिन निरन्तर रहे निकट भविष्यदेखि नै बजार बढ्नसक्ने जानकारहरु दाबी गर्छन् ।  

सकारात्मक खबर र परिस्थितिका कारण बजार परिसूचक(नेप्से) १२ अंकले बढेर १४४३.८० विन्दूमा पुगेको छ भने कारोबार रकम पनि आइतबारको तुलनामा १० करोड भन्दा बढीले वृद्धि भएको छ ।

यो दिन बजारको होटल बाहेकका अन्य सबै समूहको  सूचक बढ्यो । होटल १७.३७ अंकले घट्यो ।

यो दिन बैकिङ समूह ९.०५ अंकले बढ्यो भने व्यापारिक समूह १.२७, विकास बैंक समूह ६.६२ अंक, जलविद्युत समूह ३.२३, बित्त समूह ३.७३, बिमा समूह १२२.१६, उत्पादनमूलक २.८, अन्य समूह १२.७६ र माइक्रोफाइनान्स समूह २.८५ अंकले बढे । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुप्रति लगानीकर्ताको आकर्षण बढेका कारण सेन्सेटिभ इण्डेक्स २.७९ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७५ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका ८ लाख ५५ हजार १ सय ३९ कित्ता सेयर ४६ करोड ४६ लाख ३९ हजार ८ सय २० रुपैयाँमा कारोबार भयो । यो दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ८ करोड २६ लाख बढीको कारोबार गर्यो । यस्तै, एनबी बैंकले २ करोड ७ लाख, एभरेष्ट बैंकले १ करोड ७० लाख, नबील बैंकले १ करोड ५३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड ४७ लाख, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १ करोड २७ लाख, सानिमा माई हाइडोले १ करोड २२ लाख, एशियन लाइफ इन्स्योरेन्सले १ करोड १७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि मल्टी पर्पोज फाइनान्सका  सेयरधनीले कमाए । यो कम्पनीको सेयर मूल्य ९.०६ प्रतिशतले वृद्धि भयो । एशियन लाइफ इन्स्योरेन्सको मूल्य ५.४५ प्रतिशतले वृद्धि भयो । 

यो दिन एआइबिएल प्रगति फण्डले सबैभन्दा धेरै गुमायो । यो म्युचुअल फण्डको इकाईको मूल्य ५.५ प्रतिशतले घट्यो । यस्तै, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको संस्थापक सेयरको मूल्य पनि ५.२३ प्रतिशतले घट्न पुग्यो ।