पोखरा । अर्थमन्त्री जनार्दन शर्माले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताएका छन्। 

कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहीबार उद्घाटन गर्दै अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिएको बताए। ‘केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्नका लागि पर्याप्त छैन’, उनले भने।

शर्माले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताए। अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिए। ‘पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्री र म पनि चिन्तामा छौँ’, उनले भने, ‘प्रधानमन्त्रीले पनि विकासे मन्त्रालयसँग छलफल थाल्नुभएको छ। मैले त बुधबार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु। फेरि पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु।’

प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि शर्माले बताए। 

पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हासिल नभएको शर्माले बताए। गत वर्ष पनि पुँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उनले भने, ‘गत वर्षको माघ मसान्तसम्म १७.८६ प्रतिशत पुँजीगत खर्च भएको थियो। यो बर्ष २५ भदौमा प्रतिस्थापन विद्येयक ल्याई बजेट कार्यान्वयन नै ढिला हुँदा पनि गत बर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात् १६.०८ प्रतिशत पुँजीगत खर्च भएको छ।’

केही आयोजनाको काम सम्पन्न भए पनि भुक्तानी गर्न बाँकी रहेकाले पुँजीगत खर्च लक्ष्यअनुसार नदेखिएको शर्माले बताए। आर्थिक वर्षको अन्त्यसम्ममा ९० प्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएको र त्यसमा आफू आशावादी रहेको उनको भनाइ थियो।