काठमाण्डौ । सेयर बजारमा तरलता अभावको नकारात्मक प्रभाव देखिन थालेको छ । कर्जायोग्य रकमको अभावबाट गुज्रिरहेका बैंकहरुले सेयर कर्जा समेत दिन छाडेपछि लगानीकर्ताको मनोबल गिर्न थालेको विश्लेषकहरुले दाबी गरेका छन् । यहीकारण साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १४.७३ अंकले घटेको छ । 

दोहोरो अंकले घटेर नेप्से परिसूचक १२२६.३८ को विन्दूमा समेटिन पुगेको दिन कारोबार रकम भने ३२ करोड माथि पुगेको छ । 

यो दिन बजारमा ‘क’ वर्गका कम्पनीमा उच्च बिक्री चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ३.२३ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.२ अंकको गिरावट देखिएको छ । 

यो दिन बजारका सबै समूहका सूचकमा रातो पोतिएको छ । 

बैंकिंग समूह १६.८१ अंकले घटेको छ भने होटल समूहमा १५.०१, विकास बैंक समूहमा १०.०६ अंक, जलविद्युत समूहमा ९.७५ अंक, बित्त समूहमा ६.५ अंकको गिरावट देखिएको छ । ७९.७३ अंकले निर्जीवन बिमा समूहको सूचक घटेको छ भने जीवन बिमा समूह ५४.११ अंक, माइक्रोफाइनान्स १४.९७ अंक, उत्पादनमूलक ३.७२ र अन्य समूह २.३७ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ११ लाख ९७ हजार १ सय ६ कित्ता सेयर ३२ करोड ६४ लाख ८३ हजार ६ सय ७३ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन ग्लोबल आइएमई बैंकले २ करोड ३३ लाख, प्रभू बैंकले २ करोड ३२ लाख, एनआइसी एशिया बैंकले २ करोड २८ लाख, जनता बैंक नेपालले १ करोड ८९ लाख, मेगा बैंकले १ करोड ५३ लाख, एनएमबी बैंकले १ करोड २ लाख, कुमारी बैंकले ९६ लाख, बुटवल पावर कम्पनीले ८९ लाख, सिभिल बैंकले ८४ लाख र सानिमा बैंकले ७३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल सेवा लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाए । यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।