काठमाण्डौ । बैंकिङ प्रणालीको तरलता अभावको असर सेयर बजारमा लगातार देखिन थालेको छ । बैंकहरुसँग ऋण दिने कर्जाको अभाव हुन थालेपछि यसले सेयर बजारमा समेत नकारात्मक प्रभाव देखाउन थालेको हो । 

तरलता अभावसँगै बैंकको ब्याज बढ्ने आँकलनमा लगानीकर्ता लाग्दा सेयर बजारमा खरीद चाप देखिएको छैन । फलस्वरुप सोमबार समेत सेयर परिसूचक(नेप्से) दोहोरो अंकले घट्यो । 

यो दिन नेप्से परिसूचक १०.५६ अंकले घटी १२१६.९३ को विन्दूमा समेटिन पुगेको हो । 

यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.११ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७५ अंकको गिरावट देखिएको छ । 

यो दिन बजारका सबै समूहको परिसूचकमा रातो पोतियो । बैंकिङ समूह ९.२५ अंकले घट्यो भने विकास बैंक समूह १२.१६ अंक, जीवन बिमा समूह ७५.६७ अंक, जीवन बिमा समूह ११.९७ अंक, माइक्रोफाइनान्स समूह ९.४ अंकले घटे । होटल समूह ४८.७६ अंकले घटेको यो दिन जलविद्युत समूहमा १४.४४ अंक, बित्त समूहमा ३.०१ अंक, उत्पादनमूलकमा ११.०८ अंक र अन्य समूहमा ७.२६ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ९ लाख ८७ हजार ३ सय २१ कित्ता सेयर २४ करोड ९१ लाख ९६ हजार २ सय ७० रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा धेरै गोर्खाज फाइनान्सको २ करोड ५७ लाख बढीको संस्थापक सेयरको कारोबार भएको छ । 

यस्तै, एनआइसी एशिया बैंकले १ करोड ३७ लाख, प्रभू बैंकले १ करोड १२ लाख, जनता बैंकले १ करोड २ लाख, एनएमबी बैंकले ८१ लाख, बैंक अफ काठमाण्डूले ६२ लाख, कुमारी बैंकले ६० लाख, मेगा बैंकले ५६ लाख, सेञ्चुरी कमर्सियल बैंकले ५५ लाख र सिद्धार्थ बैंकले ५४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन रिदी हाइड्रोपावरका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतको हाराहारीले बढोत्तरी भयो । 

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य पनि ८ प्रतिशतकै हाराहारीमा घट्यो ।