काठमाण्डौ । लामो समयपछि बजारमा पुनः अशुुभ संकेत देखिएको छ। बजार परिसूचक(नेप्से)मा दोहोरो अंकको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । यसरी परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर)मा एकसाथ गिरावट आउनुुलाई विश्लेषकहरुले अशुुभ संकेतको रुपमा लिन्छन् । यस्तो प्रवृति केही दिनसम्म निरन्तर रहे बजारमा बियरिस ट्रेण्ड सुरु हुने डर हुन्छ । तर, आइतबार एकदिनको कारोबारले नै यस्तो ट्रेण्ड सुरुवातको आँकलन गर्नु मूर्खता हुनेछ । 

अघिल्लो साताका अन्तिम दिनहरुमा झै आइतबार समेत केही लगानीकर्ता प्रोफिट बुक गर्नतर्फ लागे । मोफसलमा स्थापना भएका ब्रोकर शाखाहरुको कारोबार डूूबान र बाढीको बितण्डाका कारण यो दिन ठप्प जस्तै हुँदा पनि कारोबारमा मन्दी आएको देखिएको छ । पछिल्लो समय मोफसलमा ब्रोकर शाखाबाट समेत निकै राम्रो कारोबार हुने गरेको थियो । त्यसैको सहयोगका कारण कारोबार रकम धेरै दिनसम्म १ अर्बकै सेरोफेरोमा रह्यो । 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.४ अंकले घटेर १६४२.१३ विन्दूमा झरेको छ । कारोबार रकम घटेर ८० करोडमा झर्न पुुगेको छ । 

बित्त र उत्पादनमूलक बाहेक यो दिन बाँकी सबै समूहको सूचकमा रातो पोतियो । बित्त समूह ८.५४ अंकले बढ्यो भने उत्पादनमूलकमा १६.२९ अंकको वृद्धि देखियो । 

बैकिङ समूह ९.१६ अंक, होटल समूह ५४.५८, विकास बैंक समूह १८.५१, जलविद्युत समूह २१.८२, बिमा समूह १०४.३७ र अन्य समूह ०.८६ अंकले घटे । 

‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स २.४४ अंक र समग्र कारोबारमा समेत मन्दी आउँदा फ्लोट इण्डेक्स ०.८४ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ६० कम्पनीका १९ लाख ६० हजार ६ सय ११ कित्ता सेयर ८० करोड १८ लाख ३२ हजार १६ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमीटेडले कारोबार गरेको छ । यो कम्पनीले ६ करोड ३८ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड १३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ५ लाख, एनआइसी एशियाले २ करोड ५७ लाख बढीको कारोबार गरे । २ करोड ७ लाख बढीको नबील बैंकको संस्थापक सेयर कारोबार भएको बजारमा फरवार्ड माइक्रो फाइनान्सले १ करोड ९८ लाख, प्राइम कमर्सियल बैंकले १ करोड ८२ लाख, नवील बैंकले १ करोड ७४ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत कम्पनी, एकस्थान विकास बैंक र एकस्थान अन्य समूहको कब्जामा रह्यो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले कमाएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । अरुण फाइनान्स र नेशनल हाइड्रोपावर कम्पनीले ६ प्रतिशतको हाराहारीमा सम्पत्ति जोडे । 

तीन कम्पनीको सेयर मूल्यमा पहिरो गयो । ललितपुर फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र हाम्रो विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्न पुुग्यो ।