काठमाण्डौ । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलि (असार १ गते) बाट आमरण अनशन सुरु गर्ने भएका छन्। 

तिलक कोइरालाको आमरण अनशनको पूर्वसन्ध्यामा काठमाण्डौको अनामनगरमा आज भएको लगानीकर्ताका ९ वटा संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठक बसेको छ। सोही बैठकले आन्दोलनमा अझ सशक्त पार्न ३ वटा निर्णय पनि गरेको छ। 

पहिलो निर्णयमा संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलि असार १ गतेबाट आमरण अनशन बस्ने र त्यसको सम्पूर्ण प्रबन्ध मिलाउने भनिएको छ। आमरण अनशन बिहान ११ बजेबाट सुरु हुनेछ। ‘लगानीकर्ताले उठाएका १९ बुँदे माग पूरा गराउन आमरण अनशन बस्नेबारे अन्तिम निर्णय र्ने अधिकार तिलक कोइरालामा रहनेछ’, पहिलो निर्णयमा भनिएको छ, ‘आवश्यक परे वार्ता समिति गठन गर्ने र हस्ताक्षर पनि कोइरालाले नै गर्ने कुरामा सहमति भएको छ।’

यसैगरी दोस्रो निर्णयमा आमरण अनशन सुरु हुने दिन र त्यसपछि निरन्तर रुपमा अनशनस्थलमा लगानीकर्ताको नियमित र व्यापक सहभागिता गराउने भनिएको छ। ‘तय भएका अन्य आन्दोलनका कार्यक्रम पनि सञ्चालन गर्ने र त्यसको व्यवस्थापन गर्न उपसमिति गठन गरिएको छ। ती समितिका सदस्यहरु संयोजकले नै तोक्ने निर्णय भएको छ’, दोस्रो निर्णयमा भनिएको छ। 

बैठकले आन्दोलनका कार्यक्रम सार्थकता प्रदान गर्न आर्थिक समिति, व्यवस्थापन समिति, प्रचार समिति र मिडिया समिति गठन गरेको छ। 

तेस्रो निर्णयमा आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै लगानीकर्तालाई आन्दोलनमा सक्रिय सहभागिता र आआफ्नोतर्फबाट सहयोग गर्न आह्वान गरिएको छ। 

बैठकमा नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ, स्वतन्त्र पुँजीबजार संघ, पुँजीबजार फोरम, स्वतन्त्र पुँजीबजार सुधार संघ, लगानीकर्ता दबाब समूह, नेपाल धितोपत्र लगानीकर्ता संघ, लगानीकर्ता संरक्षण मञ्च र नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरु सहभागी थिए।