काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत जलविद्युत कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ का लागि १३ वटाले मात्रै सेयरधनीहरुलाई लाभांश वितरण गरेका छन्। 

नेप्सेमा ३८ वटा सूचीकृत जलविद्युत कम्पनीमध्ये १३ वटाले मात्रै गत आर्थिक वर्षका लागि लाभांश वितरण गरेका हुन्। यी १३ वटै कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ७ प्रतिशत माथि नै लाभांश दिएका छन्।

जलविद्युत कम्पनीमध्ये ३७ वटा वार्षिक साधारणसभा पनि भइसकेको छ भने एउटाको वार्षिक साधारणभा हुन बाँकी छ। ग्रिनलाइफ हाइड्रोपावरको यही माघ २१ गते वार्षिक साधारणभा डोकेको छ। 

गत आर्थिक वर्षका लागि लाभांश वितरण गर्नेमा बुटवल पावर, चिलिमे, अरुण भ्याली, सानिमा माई, रिडी, अरुण काबेली, अपी पावर, ङादी ग्रुप पावर, नेपाल हाइड्रो, सिनर्जी पावर, रैराङ, कालिका र रुरु जलविद्युत कम्पनीहरु छन्। 

यीमध्ये सबैभन्दा धेरै लाभांश ङादी ग्रुपले दिएको छ। यो कम्पनीले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ।

यसैगरी बुटवल पावरले पनि १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ। 

अरुण काबेली पावरले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश दिएको छ। 

कालिकाले पनि कुल १५.७८९५ प्रतिशत लाभांश दिएको छ। जसमा १५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश छन्।

यसैगरी चिलिमेले ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको छ।

बाँकी जलविद्युत कम्पनीहरुले भने ७ प्रतिशतदेखि १२.६ प्रतिशतसम्म लाभांश दिएका छन्। 

यीमध्ये अरुण भ्याली, सानिमा माई, अरुण काबेली, अपी पावर, ङादी ग्रुप पावर, सिनर्जी पावर र रुरु जलविद्युतको बोनस सेयर नेप्सेमा सूचीकृत भइसकेको छ।