– अनन्त्य सुन्दर

काठमाण्डौ । पेसाले सिभिल इन्जिनियर विराटनगरका रोहन कार्की अहिले सेयर बजारका सक्रिय युवा लगानीकर्तामात्र नभएर स्वतन्त्र पुँजी बजार सुधार संघको नेतृत्व पनि गरिरहेका छन्। 

आईपीओबाट लगानी गर्न सुरु गरेका कार्कीले २०७० सालमा दोस्रो बजार प्रवेश गरेका थिए। एकजना कर्मचारी साथीले दोस्रो बजारमा प्रवेश गर्ने सुझाव दिएसँगै ५–७ लाख लगानी गरेर दोस्रो बजार प्रवेश गरेको कार्की बताउँछन्। 

दोस्रो बजारमा प्रवेश गर्नुअघि कार्कीले आफ्नै इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए। करिब १४–१५ वर्ष अघिदेखि संगीत क्षेत्रमा पनि लागेका कार्की सेयर बजार रमाइलो लागेको बताउँछन्। उनको शब्दका साथै संगीतमा स्वरुपराज आचार्य, राजेश पायल राई, दीपक लिम्बु, प्रमोद खरेललगायत देशका अन्य चर्चित गायकहरुले गीत गाइसकेका छन्।

बजार बढ्दो क्रममा भएकाले राम्रै नाफा भएकाले कार्कीले लगानी बढाउँदै गए। कार्की भन्छन्, ‘बजार बढेकाले झन नाफा हुन्छ भनेर आफूसँग भएको सेयर बेचिनँ। बजार १८०० पुग्दा पनि म बजारमा किनिरहेको थिएँ।’

‘१८०० बिन्दुबाट बजार ओरालो लाग्न सुरु भयो। घटेर बजार १६०० सम्म आउँदा पनि म सेयर खरिद गरिरहेको थिएँ’, कार्की सम्झिन्छन्, ‘बजार बढ्दा पनि किनेँ, घट्दा पनि किनेँ। बजार १६०० मा आएपछि भने बजार हेर्न छाडिदिएँ। झन्डै १ करोड भएको पोर्टफोलियो घटेर ३०–४० लाख हुँदा डिप्रेसन नै भएको थियो।’

बजार घट्दा बजार हेर्न मन नलागेकाले त्यो समय अध्ययनमा बिताएको कार्कीले सुनाए। ‘झन्डै दुई वर्षको अध्ययनको निष्कर्ष नै सेयर बजार मैले सोचेको भन्दा फरक रहेछ भन्ने थियो। तर, अध्ययनपछि सेयर बजारमा गुमाएको पैसा बजारबाट नै कमाउने दृढ अठोटका साथ ११०० मा पुनः बजार प्रवेश गरेँ’, उनले भन, ‘बजारमा ३ वर्षमा गुमाएको पैसा ३ महिनामै कमाएँ।’

उक्त घटनाले बजारमा अवसरहरु आइरहन्छन् भन्ने पाठ सिकाएको कार्की बताउँछन्। ‘हामी बेलाबखतमा बजारमा हुने उतारचढावले गर्दा प्यानिक हुन्छौँ। तर, बजार बढ्दामात्र नभएर घट्दा पनि अवसरहरु आउँछन्’, उनले भने, ‘सेयर बजारमा घाटा तब हुन्छ हामी सबै सेयर बेचेर बजारबाट निस्कन्छौँ।’

बजारमा सधैँ कमाइन्छ भन्ने हुँदैन। ‘तर सेयर बजारमा कम्पनी खरिद गर्दा दुधालु गाईजस्तो कम्पनी छर्नाट गर्नुपर्छ। आफूले सोचेको मूल्य नआएसम्म दूध खाइरहने, राम्रो मूल्य आएको दिन गाई नै बेच्ने’, उनले भने, ‘डर र लोभका कारण बजार घट्दा झन् घट्छ भनेर हामी सेयर बेच्छौँ। बजार बढ्दा अब झन बढ्छ भनेर किन्न थाल्छौँ। पुँजीबजारमा टिकिरहन डर र लोभको सन्तुलन मिलाउनुपर्छ। बजारमा टिकिरह्यो भने मात्र कमाइन्छ।’

स्थापित संगठनहरुले लगानीकर्ताहरुको आवाज नसुनेका साथै सेयर बजारमा विकृति र नीतिगत समस्याहरु धेरै भएकाले आम–लगानीकर्ताको समस्या सम्बोधन गर्न सक्ने संगठन खोलेको कार्कीको भनाइ छ। ‘ठूला–साना सबै लगानीकर्ताको समस्याको सम्बोधन गर्नका लागि नै स्वतन्त्र पुँजी बजार सुधार संघ नामक संगठन सुरु गरेको छौँ’, उनले भने, ‘पुँजी बजारको पहुँचका साथै बजार विस्तारका लागि ७७ जिल्लामा नै संगठन विस्तार गर्ने योजना छ।’

नियामक निकायहरुले आफ्नो दायित्व निर्वाह नगरेको कार्कीको ठम्याइ छ। ‘नियामक नै खेलाडीहरुको ईशारा काम गरेको देखिन्छ। पुँजीबजारमा अथाह सम्भावनाहरु लुकेका छन्। तर, पुँजी बजारले राष्ट्रको समृद्धिका साथै लगानी आकर्षित गर्न ठूलो भूमिका खेल्छ भन्ने नियामक निकायहरुको कर्मचारीमात्र नभएर मन्त्रीहरुले पनि बुझ्न अत्यावश्यक छ’, उनले भने।

अहिले नेपालमा झन्डै ४८ लाख डिम्याट हुँदा २५ लाख लगानीकर्ताहरुले आईपीओमा आवेदन दिँदै आएका छन्। टीएमएस खोल्नेको संख्या पनि ११ लाख नाघेको छ। अनलाइन प्रविधि अपनाउँदामात्र पुँजी बजार यत्रो जनसंख्याको पहुँचमा पुगेको छ। ‘अहिले कर्मचारी, शिक्षक, विद्यार्थी सबैलाई बजारको चासो र चिन्ता छ’, कार्की भन्छन्, ‘सुधार गर्न सकिने क्षेत्रहरुमा मात्र काम गर्ने हो भने पनि पुँजीबजारले देशको विकास र समृद्धिमा ठूलो भूमिका खेल्न सक्ने देखिन्छ।’

‘हिजो बजारमा राम्रो कारोबार हुँदा पुँजी बजारबाट मात्र महिनाको ३ अर्बसम्म राजस्व संलन भएको थियो। अहिले यो खुम्चिएर ४०–५० करोड पुगेको छ’, कार्की भन्छन्, ‘सरकारले पुँजीबजारलाई स्वतन्त्र छोडेर अनावश्यक हस्तक्षेप र नियन्त्रण नगर्ने हो भने सेयर बजारबाट मात्र वर्षको १ अर्बभन्दा बढी राजस्व संकलन हुने देखिन्छ।’

नेपालको पुँजीबजार विश्वको नै अन्डर भ्यालुड सेयर बजारमा पर्छ। यहाँ २० औँ वर्षदेखि सञ्चालन भइरहेका कम्पनीहरुको सेयरमूल्य २००–३०० रुपैयाँमात्र छ। ‘त्यसैले नेपाली सेयर बजारको भविष्य उज्ज्वल छ’, कार्की भन्छन्, ‘नेपाली सेयर बजार पनि बुलिस छ। बीचमा सानोतिनो करेक्सन आउला तर नेप्से अल–टाइम हाई ब्रेक गर्दै अगाडि बढ्ने देखिन्छ।’