काठमाण्डौ । नाडेप लघुवित्तको आइपीओमा मंगलबार साँझसम्म १ लाख ५१ हजार ६ सयले आवेदन दिएका छन् । 

यो कम्पनीले खुलाएको ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओमा यो अवधिसम्म ६७ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

मंगलबार साँझसम्मको यो तथ्यांकअनुसार नाडेपको सेयरमा माग भन्दा करिब १६ गुणा बढी आवेदन परेको देखिएको छ । 

आइतबारदेखि खुलेको आइपीओमा असार १३ गते(बुधबार)सम्म आवेदन दिन सकिनेछ । अन्तिम दिन अझ बढी आवेदन पर्ने विगतको अभ्यास रहेकोले कम्पनीको आइपीओमा थामिनसक्नु आवेदन पर्ने निश्चित झै देखिन्छ । 

आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम २४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कुल निश्कासन हुने ४ लाख ८० हजार कित्तामध्ये ५ प्रतिशतले हुन आउने २४ हजार कित्ता नाडेपका कर्मचारीका लागि तथा २४ हजार कित्ता नै म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ९० प्रतिशत चाहि सर्वसाधारणका लागि छुट्याइएको छ । 

यो कम्पनीले कुल चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री हुन लागेको हो ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसत आधार भन्दा कमजोर रहेको भन्ने देखाउँछ ।

नाडेपले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ करोड ४६ लाख खूद नाफा आर्जन गरेको थियो । 

यो कम्पनीको हाल चुक्तापूँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ, आइपीओपछि बढेर १५ करोड ५७ लाखको उचाईमा पुग्नेछ ।