काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ३ हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।

धितोपत्र बोर्डले न्यादी हाइड्रोपावर, साहस ऊर्जा र बुद्ध भूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। न्यादीले साउन ११ गते र साहस ऊर्जा तथा बुद्ध भूमि नेपाल हाइड्रोपावरले साउन १४ गते धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएका हुन्। 

यी ३ वटै हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछन्। 

यीमध्ये न्यादी हाइड्रोपावरले कुल ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। यो कम्पनीको चुक्तापुँजी २७ प्रतिशतबराबर हुनेछ। 

यो कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी साहस ऊर्जाले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन १ अर्ब ५ करोड रुपैयाँबराबरको हुनेछ। 

कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरले कुल १२ लाख कित्ता आईपीओ जारी गर्नेछ। जुन १०० रुपैयाँ अंकित दरका कुल १२ करोड रुपैयाँबराबरको हुनेछ। यो पनि कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबर नै हो। 

यो आईपीओको निष्कासनकर्ता भने सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।