काठमाण्डौ । तीन लघुवित्तसहित चार कम्पनीको पौने ८ लाख बढी कित्ता सेयर आज (माघ २ गते) बाट लिलामीमा राखिएको छ।

एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेका आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, महुली लघुवित्त र नागरिक लगानी कोष (सीआईटी)को कुल ७ लाख ७७ हजार ५० कित्ता सेयरमा लिलामीमा राखिएको छ। लिलामीमा राखिएका सेयरमा आरएमडीसीको ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ८३ हजार ८२९ कित्ता, महुलीको ११ हजार २५४ कित्ता र सीआईटीको ३ लाख ८१ हजार ९०२ कित्ता छन्।

लिलामीमा राखिएको सेयरमध्ये प्रतिकित्ता आरएमडीसीको ४९४ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ४८४ रुपैयाँ, महुलीको ६४० रुपैयाँ र सीआईटीको ११८३ रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लिलामीमा राखिएका सेयरमा प्रचलित कानुनबमोजिम योग्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्समा न्यूनतम १ हजार कित्ता, महुली लघुवित्तमा न्यूनतम ५०० कित्ता र सीआईटीमा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको आवेदन दिन सकिनेछ। 

बोलपत्र आरएमडीसी, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तका लागि एनआईसी एसिया क्यापिटल लिमिटेडको काठमाण्डौ बबरमहलस्थित कार्यालय तथा सीआईटीका लागि एनआईसी एसिया क्यापिटलको कार्यालयसहित एनआईसी एसिया बैंकको काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालयका साथै बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पनि पेस गर्न सकिनेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति माघ ७ गते बैंकिङ समयसम्म तोकिएको छ।