-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । अपर तमाकोशी परियोजना नेपालको एक राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनामा ५१ प्रतिशत स्वामित्व विभिन्न सरकारी संस्थानहरुको र ४९ प्रतिशत सर्वसाधारणतर्फ रहेको छ ।  

परियोजनामा लगानी रहेको ५१ प्रतिशत विभिन्न सरकारी संस्थानहरुमा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत,  नेपाल दूरसञ्चारको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत दरले लगानी छ। बाँकी ४९ प्रतिशतमा सर्वसाधारणको १५ प्रतिशत, स्थानीयको १० प्रतिशत र २४ प्रतिशत कर्मचारी सञ्चय कोष र प्रोजेक्टमा योगदान गर्ने कर्मचारीलाई छुट्टाएर लगानी व्यवस्थापन गरिएको छ।

आधारभूत पक्ष
कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपियाँ रहेको छ । कम्पनीले पुँजी वृद्धिकै लागि हाल एक बराबर एकको हकप्रद जारी गरेको छ । योसँगै कम्पनीको चुक्तापुँजी २१ अर्ब हुनेछ । 

कम्पनीको जगेडा कोषमा ६ अर्ब ९१ करोड रुपियाँ नेगेटिभ रहेको छ । कम्पनीको अल्पकालीन र दीर्घकालीन गरेर करिब ८० अर्ब कर्जा रहेको छ । सबै सूचक ऋणात्मक रहेको यो कम्पनीको हालसम्म खुद नोक्सान ३७ अर्व ५८ करोड रुपियाँ रहेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ३५.४ रुपियाँ ऋणात्मक  रहेको छ । बुक भ्यालु जम्मा ३४.६७ रुपियाँ मात्रै रहेको छ । योसँगै कम्पनीको रिर्टन अन इक्विटी १०२.३७ प्रतिशत ऋणत्मक रहेको छ । 

प्राविधिक पक्ष
फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी बियरिस सेन्टिमेन्टमा रहेको छ । यो  मिटरमा यो कम्पनीको  हाल २५ को तहमा रहेको छ । यो भनेको लगानीकर्ता अधिक डराएका छन् भन्ने हो । दोस्रो बजारमा कम्पनीको सेयरभाउ लकडाउन अगाडिकै अर्थात करिब ३ वर्ष पहिलेको अबस्थामा नै  आइपुगेको छ । आज दोस्रो बजारमा २१८ रुपियाँमा अन्तिम कारोबार भएको छ ।  गएको ५२ सातामा कम्पनीको  उच्चमूल्य ५६८ रुपियाँ रहेको थियो । न्यून मूल्य भने आजको मूल्य  २१८ रुपियाँ नै रहेको छ । यो कम्पनीमा सर्वसाधारणतर्फको सबै सेयरको लकिङ पिरेड खुला भइसकेको छ । 

बोलिङ्गर ब्यान्ड, म्याक्डी र आरएसआईको आधारमा 
बोलिङ्गर ब्यान्डमार्फत यो कम्पनीको सेयरभाउलाई हेर्दा लामो समयदेखि बोलिङ्गरको तल्लो ब्यान्डमा चलेको देखिन्छ । अपरब्यान्ड र लोवर ब्यान्डको दूरी बढ्दै गएको छ । यस हिसाबले यो कम्पनीको सेयर अझै केही समय लोअर ब्यान्डमा  साइडवेज चल्नसक्ने देखिन्छ । म्याक्डीमार्फत हेर्दा वियरिस क्रसओभर भ्यालिड रहेको छ । 

हिस्टोग्राम नेगेटिभ र लामा लामा रहेका छन् । आरएसआईमार्फत हेर्दा हाल ओभरसोल्ड जोन ३० मा रहेको छ । यसले यो कम्पनीको सेयरमा तीब्र बिक्री दवाब  रहेको देखिन्छ । समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा यो कम्पनीको सेयरभाउ २ सय देखि २२० आसपास केही समय साइडवेज चलेर पुनः माथि जान सक्छ । 

पिभट् प्वइन्ट 


पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 
प्रतिरोध ३ –२४०
प्रतिरोध २ –२३५
प्रतिरोध १– २२९
पिभट प्वइन्ट: २२४

घटेमा सपोर्ट 
सपोर्ट १– २१८
सपोर्ट २– २१३
सापोर्ट  ३ –२०७

निश्कर्ष: अपर तामाकोशी जलविद्युत कम्पनी आधारभूत रुपमा निकै कमजोर देखिन्छ । अल्पकालीन र दीर्घकालीन गरेर करिब ८० अर्ब कर्जा रहेको यो कम्पनीका सबै सूचक ऋणात्मक रहेका छन् । यस हिसाबले यो कम्पनी पे ब्याक पिरियड अझै बढ्नसक्छ । रिर्ट अन इक्विटी पनि ऋणत्मक रहेको छ ।  

लगानीकर्ताले अल्पकालमा प्रतिफल पाउनसक्ने सम्भावना निकै कम रहेको छ । तर दीर्घकालका लागि भने अहिलेको मूल्य पुँजीगत लाभको हिसाबले ठीकै रहेको देखिन्छ । किनकी आरएसआई ओभरसोल्ड जोन नजिक आएको छ ।  कम्पनीको सेयरभाउ केही समय २ देखि २२४ रुपियाँसम्म साइडवेज चल्नसक्ने देखिन्छ ।