काठमाण्डौ । विभिन्न क्षेत्रका तीन हाइडोपावर कम्पनीले सर्वसाधारण तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि करोडौं रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएका छन् । 

पाँचथरको पाँचथर पावर कम्पनी लिमीटेड, म्याग्दीको घलेम्दी हाइड्रोपावर र पाँचथरकै माउन्टेन हाइड्रोपावरले ३८ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएका हुन् । 

पाँचथर पावर कम्पनी लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० करोड र सर्वसाधारणका लागि १० करोड गरी कुल २० करोड रुपैयाँ बराबरको सेयर आइपीओ गर्न लागेको छ । यही उद्देश्यले यो कम्पनीले सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ । हाल यो कम्पनीले १४.९ मेगावाट क्षमताको ‘हेवा खोला ‘ए’ हाइड्रोपावर प्रोजेक्ट’ संचालन गरिरहेको छ । हाल यो कम्पनीेको चुक्तापुँजी ७६ करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी बढेर ९६ करोड पुुग्नेछ । 

उता, घलेम्दी हाइड्रोपावर कम्पनी समेत ५.५० करोड मूल्य बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्ड पुुगेको छ । भिबोर क्यापिटल लिमीटेड यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । यो कम्पनीले म्याग्दीमा ४ मेगावाट क्षमताको घलेम्दी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ । 

यस्तै, माउण्टेन हाइड्रोले पनि पाँचथरस्थित आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १२ करोड ५० लाख मूल्य बराबरको सेयर आइपीओको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । सिद्धार्थ क्यापिटल लिमीटेडले यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

यो कम्पनीले २१.६ मेगावाटको तल्लो हेवाखोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।