काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। 

प्रचण्ड ७ दल र स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औँ प्रधानमन्त्री बन्ने भएका हुन्। सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका प्रचण्ड प्रधानमन्त्री बन्न लागेका हुन्।

प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री हुन लागेका हुन्। मंसिर ४ को निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आह्वान गरेकी थिइन्। उनले दिएको समय आजै साँझ ५ बजे सकिएको छ। समय सकिनुअघि नै प्रचण्ड शीतल निवास पुगेर आफ्नो दाबी पेस गरेका छन्। 

बालकोटस्थित ओली निवासमा आइतबार दिउँसो बसेको ७ दलको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय भएको थियो। २७५ सांसद रहेको प्रतिनिधिसभामा प्रचण्डलाई एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंह र प्रभु साहसहित १६८ सांसदले समर्थन गरेका छन्।

सहमतिअनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा–आधा कार्यकाल प्रधानमन्त्री हुनेछन्। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदहरुको भागबन्डा भने मिलिसकेको छैन।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बन्ने भएपछि अर्थमन्त्री एमाले पाउने राजनीतिकवृत्तमा व्यापक चर्चा चलिरहेको छ। अर्थमन्त्रीमा एमालेका विष्णु पौडेलको सम्भवना प्रबल छ’, एक राजनीतिक विश्लेषक भन्छन्। 

अर्काथरि राजीतिक विश्लेषकहरु भने माओवादी केन्द्र र एमालेबीच गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका वर्षमान पुन अर्थमन्त्री बन्न सक्ने अनुमान पनि छन्। पौडेल र पुन यसअघि पनि अर्थमन्त्री भइसकेका व्यक्ति थिए। 

केही राजनीतिक विश्लेषक भने यसपालि अर्थमन्त्रीमा अर्थतन्त्र बुझेका नयाँ व्यक्ति आउन सक्ने आँकलन उत्तिकै गर्छन्।