काठमाण्डौ । नियामक निकायको सेटिङगमा आईपीओ निस्कासन गर्न अनुमति दिएको भन्दै निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आबेदन दिनेको संख्या बढ्दै गएको छ ।
कम्पनीले प्रिमियम दरमा सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन खुला गरेको छ । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा तेस्र्रो दिन बुधबार साँझसम्ममा ११ हजार ३६३ जना आवेदकले ९ लाख ७४ हजार ९० कित्ता सेयर खरीदका लागि आवेदन दिएका छन् ।
सीडीएसीकाअनुसार तेस्रो दिन बुधबार साँझ ५ बजेसम्ममा २० करोड ६ लाख बढीको खरीद आवेदन परेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन खुला गरेको हो । पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् ।
धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार उक्त कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँमा प्रिमियमसमेत थपेर प्रतिकित्ता २०६रुपैयाँले गणना गर्दा कुल ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ । सोमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याइएको छ ।
विदेशमा काम गर्ने नेपालीहरुले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आईपीओ खरिदका लागि मंसिर १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ । कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ ।
यो कम्पनीको आईपीओ रोक्न केही समयअघि संघीय संसदको अर्थसमितिले निर्देशन दिए पनि पछि पुनः सेटिङ मिलाइएपछि निश्कासन गरिएको हो ।
कम्पनीले प्रकाशन गरेको विवरणपत्र अनुसार यसको २०८० असार मसान्तसम्मको अपरिस्कृत विवरणअनुसार प्रतिसेयर नेटवर्थ रु. ११०.९२ रहेको छ । प्रतिसेयर आम्दानी ६.३२ रुपैयाँ मात्र छ भने सो अवधिसम्म ४४ करोड २४ लाख मात्रै नाफा छ ।
कम्पनीले आर्थिक वर्ष २०८०–८१ मा प्रतिसेयर नेटवर्थ रु. १४९.७१, इपीएस १०.२६ रुपैयाँ र नाफा १ अर्ब बढी हुने प्रक्षेपण गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०८१–८२ प्रतिसेयर नेटवर्थ १६५.२३ रुपैयाँ, इपीएस १५.५२ रुपैयाँ र नाफा १ अर्ब ५५ करोड तथा आव २०८२–८३ मा प्रतिसेयर नेटवर्थ १८८.०९ रुपैयाँ, ईपीएस २२.८६ रुपैयाँ र नाफा २ अर्ब २८ करोड हुने प्रक्षेपण गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago