काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ३५० रुपैयाँ हाराहारीमा किनबेच भइरहेको तेह्रथुम पावर कम्पनी लिमीटेडले सत्प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । 

यो कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको ४० औं बैठकले छैठौं वार्षिक साधारणसभा आह्वान गर्दै त्यसमा १ः१ अनुपातमा हकप्रद निश्कासनको अजेण्डा समेत राखेको हो । 

कम्पनीले पुस २१ गते शनिवार १२ः३० बजे काठमाण्डौको बत्तिसपुतलीमा रहेको आफ्नै मुख्य कार्यालय परिसरमा साधारणसभा बोलाएको छ ।

साधारणसभामा १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत पेश हुनेछ । 

यसैगरी, आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहितको असार ३१, २०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने लगायतका अजेण्डा समेत पेश हुनेछन् । 

कम्पनीले गत आर्थिक वर्षबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने समेत देखिएको छ । 

कम्पनीले मंसिर २८ गतेदेखि पुस २१ गतेसम्म सेयरधनी दर्ताकिताब बन्द हुने समेत प्रष्ट्याएको छ । यसको अर्थ साधारणसभामा सहभागी हुनका लागि मंसिर २७ गतेसम्म यो कम्पनीको सेयरधनी भइसक्नुपर्नेछ ।