काठमाण्डौ ।दोस्रो बजारमा सूचीकृत तेह्रथुम पावर कम्पनी(टीपीसी) को सेयर कारोबारमा बुधबार केहि ब्रोकरबाट चलखेल भएको लगानीकर्ताले आशंका गरेका छन् ।
 

दोस्रो बजारमा ‘लो क्याप’  कम्पनीको रुपमा परिचित उक्त कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ छ  ।

केहि दिन यता लो क्याप भएका कम्पनीहरुमा तिब्र रुपमा उतार चढाव भएको देखिन्छ ।

यसैबीच, कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा भएको ‘लुप होल’ लाई प्रयोग गरेर उक्त कम्पनीको सेयर कारोबारमा चलखेल गरेको लगानीकर्ताहरुले दाबी गरेका छन् ।
 

हाल टीएमएसमा  सेयर खरिदबिक्री अर्डर राख्नका लागि ‘सीएनसी’, ‘एलएमटी’ र ‘एमकेटी’ अप्सन छन्।  सीएनसी र एलएमटीमा नियमित अर्डर राख्ने काम हुन्छ। तर,  टीएमएसमै एउटा मात्रै एमकेटी (मार्केट अडर) अप्सन हुन्छ। 
 

मार्केट अर्डर भनेको बजारमा चलेको मूल्यअनुसार सेयर कारोबार हुने एक आदेशको प्रकार हो। तर यसको  दुरुपयोग गरेर बुधबार केहि लगानीकर्ताले उक्त कम्पनीको सेयरको भाउ एकैपटक ५८ रुपियाँले तल झारिदएका छन् ।

यो दिन दोस्रो बजारमा कारोबार भएको उक्त कम्पनीको सेयरमूल्यमा दिनभर ‘तलमाथि’ भएको पाइएको छ ।

कारोबारको अन्तिम समयमा स्टक  ब्रोकर नम्बर २९ र स्टक ब्रोकर नम्बर ७१  बीच कम्पनीको १०० कित्ता सेयर ५०८ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरि, २ प्रतिशतको नियम उल्लंघन गर्दै ब्रोकर नम्बर ६४ र ब्रोकर नम्बर ४९ बीच प्रतिकित्ता ५३३ रुपियाँमा कारोबार भएको छ ।

यसलगत्तै  ब्रोकर नम्बर ६४ र ब्रोकर नम्बर २८ बीच पनि १ हजार कित्ता सेयर ५६६ रुपियाँमा  कारोबार भएको  छ । अन्तिम कारोबारमा ब्रोकर नं २९ र ब्रोकर नम्बर १६ बीच पुनः ५०८ रुपैयाँमा नै झारेर कारोबार भएको छ ।

यसरी कम्पनीको सेयरकोमूल्य चार वटा कारोबारमा दुई प्रतिशतको नियम उल्लंघन गर्दै कारोबार भएको छ ।

(हेर्नुस माथिको तस्बिर)
हाल टीएमएसमा एमकेटी अप्सन छ। यो भनेको बजारमा चलेको मूल्यमै कारोबार गर्दा कुनै पनि समयमा लगानीकर्ताले एकैपटक सेयर किन्न वा बेच्न सक्ने टीएमएसको फिचर हो।

 

यसमा एकैपटक एमकेटी अप्सनमा गएर अर्डर भए अनुसारको कित्ता बजारमा चलेको मूल्यमै किनबेच हुन्छ। यस सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले एमकेटी अप्सन लगानीकर्ताको सुविधाको लागि राखिएको जानकारी दिए ।

उनले यसको दुरुपयोग नै भएको जानकारी आफूले नपाएको भन्दै यदि यस्तो भएको खण्डमा नेप्सेले सचेत गराउन सक्ने बताए ।