काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन रहेको छ। 

आज साउन ५ गतेबाट कम्पनीले पहिलो चरणमा स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ। 

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सप्तकोशी डेभलपमेन्ट बैंकको तेह्रथुमस्थित बसन्तपुर शाखाबाट पनि यो आईपीओमा आवेदन दिन सक्नेछन्। माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखाहरु सक्रान्ति, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानीबाट आवेदन दिन सक्नेछन् तथा तेह्रथुम पावरको जलविद्युत आयोजनास्थलबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। 

यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट पनि यो आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 

नेपाल धितोपत्र बोर्डले गत असार १० गते यो कम्पनीलाई कुल १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। स्थानीयलाई ४ लाख कित्ता निष्कासन गरेको कम्पनीले बाँकी ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ पुग्नेछ। 

आईपीओ बिक्रीबाट प्राप्त रकम तेह्रथुम जिल्लामा निर्माणाधीन ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्टमा लगानी गरिने कम्पनीले जनाएको छ।