काठमाण्डौ । तोकिएको समयभित्र पूर्ण रुपमा सब्सक्राइब्ड नहुने अनुमानका बीच सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद लम्ब्याइएको छ। 

गत असोज १४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो। यो आईपीओ निष्कासन बन्द छिटोमा असोज १७ गते बैंकिङ समयपछि भनिएको थियो। तर, मागबमोजिम आवेदन नपर्ने अनुमानबीच धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले नेपाल धितोपत्र बोर्डको अनुमतिमा आवेदन दिने म्याद लम्ब्याएको हो।

सीडीएससीको तथ्यांकअनुसार आज बिहान १० बजेसम्म सोनापुर मिनरल्सको आईपीओ ओभरसब्सक्राइब्ड भइसकेको देखाउँछन्। सीडीएससीको तथ्यांकअनुसार ८ लाख ५७ हजार ७९७ आवेदकबाट कुल १ करोड १ लाख ७२ हजार ११० कित्ता सेयर माग भएको छ। तर, थुप्रै संख्यामा आवेदन रद्द भएकै कारण यो आईपीओ अझै सब्सक्राइब्ड हुन बाँकी नै रहेको छ। 

यथोचित संख्यामा प्रमाणित आवेदन प्राप्त भएमा असोज २८ गतेअगावै सूचना प्रकाशित गरी आईपीओ निष्कासन बन्द गरिने एनआईबिएम एसले स्पष्ट पारेको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलका एक अधिकारीले अस्ति साँझसम्मको तथ्यांकले आईपीओ पूर्ण रुपमा सब्सक्राइब्ड नहुने हो कि भन्ने अनुमानकै आधारमा धितोपत्र बोर्डबाट म्याद थपका लागि अनुमति लिइएको बताए। ‘धितोपत्रको सार्वजनिक निष्कासनसम्बन्धी नियमावलीअनुसार पनि तोकिएको ४ दिनभित्र आईपीओ पूर्ण रुपमा सब्सक्राइब्ड नहुने अवस्था आएको खण्डमा १ कार्य दिनअगाडि नै म्याद थपका लागि धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने प्रावधान छ’, ती अधिकारीले भने, ‘सोही प्रावधानअनुरुप नै म्याद थपको अनुमति दिएर आज म्याद थपबारे सूचना प्रकाशित गरेका हौँ।’

ती अधिकारीका अनुसार आज मध्याह्न १२ बजेसम्म करिब ८ लाख आवेदकबाट माग भएको ९२ लाख कित्ता सेयर सदर भएको छ। ‘करिब ६० हजार आवेदकबाट परेको ९ लाख कित्ता सेयर रद्द भएको छ’, ती अधिकारीले भने। 

अझै केही आवेदनहरु प्रमाणीकरण गर्न बाँकी रहेको ती अधिकारीले बताए। ‘आज दिनभरमा सोनापुरको आईपीओ पूर्ण रुपमा सब्सक्राइब्ड हुन पनि सक्छ’, ती अधिकारीले भने, ‘आज साँझसम्म पूर्ण रुपमा सब्सक्राइब्ड भएको अवस्थामा भोलि निष्कासन बन्दको सूचना आउन सक्छ।’ 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले पनि सीडीएससीको वेबसाइटमा देखिएको तथ्यांकले सोनापुरको आईपीओ ओभरसब्सक्राइड भइसकेको देखिए पनि क्यापिटलबाट प्रमाणीकरणको काम बाँकी रहेकोले वास्तविक तथ्यांक फरक पर्न सक्ने बताए। ‘त्यसैले धितोपत्र बोर्डको नियमअनुसार नै क्यापिटलले म्याद थप गरेको हुन सक्छ’, उनले भने।