काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्य चिकित्सकहरुको टोलीद्वारा अस्वभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ ।
जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ वर्षीया महिलामा उक्त शल्यक्रिया भदौ २६ गते सफलतापूर्वक सम्पन्न गरेको हो ।
इमाडोल निवासी अञ्जु बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित थिइन । हिँडडुल गर्न गाह्रो, रक्तचाप बढेर १६०÷९० भन्दा तल नझर्ने समस्या, अलिकति हिँड्दा पनि स्वाँ स्वाँ हुने समस्या त छँदै थियो, त्यसमाथि राति निन्द्रा नपर्ने समस्याले बढी नै सताएको थियो । साथै राति तारान्तार पिसाब फेर्न गइरहनुपर्ने अर्को विकराल समस्या पनि थियो । उनलाई विभिन्न हस्पिटलहरुमा जचाइन, तर समस्याको ज्यूँका त्यूँ ।
केही समयपूर्व उनी नर्भिकको जनरल, जि.आई. एण्ड ल्यापारोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि आइन । अब्स्ट्रक्टिभ स्लिप अप्निया (राति घुर्ने र निन्द्रा नपर्ने) समस्याका लागि नर्भिकका बरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानीसँगको परामर्शपश्च्यात जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यचिकित्सकहरुको टोलीसँगको परामर्शमा रहेका थिए ।
बेरियाट्रिक शल्यक्रिया (जसलाई तौल कम गर्ने शल्यक्रिया वा मेटावोलिक शल्यक्रिया पनि भनिन्छ ) विशेषतःज्यादा मोटोपन भएका (जसको बि.एम.आई. ४०÷के.जी. वा ३५ के.जी. भन्दा बढी भई मोटोपनका कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्निया लगायत डिसलिपिडिमिया जस्ता मुटुजन्य रोग र निःसन्तान वा बाँझोपन जस्ता समस्याको उपचार गर्ने गरिन्छ । यसखाले शल्यक्रियाका फाइदाहरुमा केवल शारीरिक तौल कम गर्ने मात्र नभएर माथि उल्लेख गरिएका चिकित्सकीय समस्याहरुको न्यूनीकरण वा निराकरण गर्नु समेत हुन्छ ।
शल्यक्रियापूर्व हस्पिटलमा भर्ना हुँदा बुढाथोकीको तौल ९० के.जी. थियो । हाल उनको तौल ८५ के.जी.मा झरिसकेको र वि.एम. आई. पनि केवल ४१ मात्रै रहेको छ ।
नर्भिकको जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागले ल्यापारोस्कोपिक कोलो–रेक्टल शल्यक्रिया, ल्यापारेस्कोपिक हर्निया शल्यक्रिया, ल्यापारोस्कोपिक इन्टेस्टाइनल शल्यक्रिया (पित्त थैली, एपेण्डिक्स, र सानो आन्द्राका विविध शल्यक्रियाहरु), पेट/आमाशय, प्याङ्क्रियाजका शल्यक्रियाहरु, तथा ल्यापारोस्कोपिक लिभर (कलेजो) शल्यक्रियाहरु सफलताका साथ नियमित रुपमा गर्दै आएको छ ।
यसखाले तमाम शल्यक्रियात्मक उपचार विश्वसनीय रुपमा स्वदेशमै र सर्वसुभल रुपमा उपलब्ध हुन थालेपछि स्तरीय शल्यक्रियाका लागि अथाह धनराशी खर्चेर विदेश धाउनुपर्ने बाध्यता अब नरहेको शल्यक्रिया टोलीका सदस्य डा. प्रकाश चौधरीले बताए ।
के हो ल्यापारोस्कोपिक स्लिभ ग्याष्ट्रेक्टोमी शल्यक्रिया?
स्लिभ ग्यास्ट्रेक्टोमी एउटा शल्यक्रियात्मक प्रक्रिया हो, जसले आमाशयमा खाना अट्ने क्षमता कम गर्दछ । यस प्रक्रियामा आमाशयको करिब ७५ प्रतिशत भाग हटाइन्छ र आमाशयलाई नली आकारमा परिवर्तन गरिन्छ, ता कि त्यहाँ कम मात्रै खाना अट्न सकोस् ।
यो सफल शल्यक्रिया नर्भिकका बरिष्ठ जनरल, जी.आई.एण्ड ल्यापारोस्कोपिक सर्जन प्रा.डा. मुकुन्दराज जोशीको टोलीले गरेको थियो । उक्त टोलीमा प्रा.डा. जोशीका अलावा डा. सञ्जय पौड्याल, डा. टंकप्रसाद बोहरा, डा. प्रकाश चौधरी र एनेस्थेसियोलोजिष्ट डा. सुरेश लामिछाने संलग्न थिए ।
यसपूर्व पनि नर्भिकमा यसखाले शल्यक्रिया नभएका भने होइनन् तर विदेशी विशेषज्ञहरुको प्रत्यक्ष संलग्नतामा मात्रै । नर्भिकमा नेपालीचिकित्सकहरुको टोलीद्वारा मात्रै गरिएको यस खाले सफलतम् शल्यक्रिया भने यो पहिलो हो ।
सफल सल्यक्रियापछि बुढाथोकी मंगलबार साँझ नै डिस्चार्ज भइसकेकी छिन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago