काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि बजारले पहिरोको सामना गर्नुपरेको छ । कारोबार रकममा निकै राम्रो सुधार भए पनि परिसूचक भने २१.४७ अंकले घटेर १० महिनाकै सबैभन्दा न्यून अंकमा झरेको छ । बिहीबार कायम नेप्से परिसूचक २०७३ सालकै सबैभन्दा न्यून विन्दू हो । किनभने नेप्से परिसूचक घटेर १३७५.१४ अंकमा आइपुुगेको छ । 

बुधबारको तुलनामा बजारमा केही सुधार देखिए पनि समग्रतामा निराशाको कालो बादल नै मडारियो । लगानीकर्ताहरुलाई बजार घटेर १२ सयको बिन्दूमा पुुग्ने हल्ला तथा मनोवैज्ञानिक त्रासले समेत आफूसँग भएको सेयर बिक्रीमा प्रोत्साहित गर्दा बिक्रीको चाप उच्च भई राम्रो कारोबारको बाबजुद परिसूचकतर्फ पहिरो गएको हो । 

साताको अन्तिम कारोबार दिन सबै समूहको सूचकमा चरम निराशा छाएको छ । वाणिज्य बैंक समूह २३.३५ अंकले घटेको छ भने बिमा समूह १०१.५, विकास बैंक समूह १८.३१, होटल समूह ५.५५, जलविद्युत समूह ३.२३, बित्त समूह ९.०८ र अन्य समूह १२.७२ अंकले घटेका छन् । 

''क'' वर्गका कम्पनीको कारोबार खुम्चिँदा सेन्सेटिभ इण्डेक्स ४.७२ अंकले घटेको छ भने समग्र कारोबार समेत खुम्चिएपछि फ्लोट इण्डेक्समा १.६७ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार कुल १ सय ३७ कम्पनीको १० लाख ५२ हजार ८ स ६९ कित्ता सेयर ५१ करोड ९२ लाखमा किनबेच भयो । २८ लाख बढीको कारोबार वाणिज्य बैंकहरुले गरे । तर यो समूहमा समेत बिक्रीको चाप उच्च देखियो । बिमा कम्पनीले १० करोड ३३ लाख तथा विकास बैंकहरुले ६ करोड बराबरको सेयर कारोबार गरे । 

कम्पनीगत हिसाबले धेरै कारोबार गर्नेमा प्रभूू बैंक नै अगाडि देखियो । यो बैंकको ३ करोड १३ लाख बढीको साधारण सेयर किनबेच भयो । सिद्धार्थ बैंकले ३ करोडको हाराहारीमा कारोबार गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ४७ लाख, एनबी बैंकले १ करोड ८९ लाख, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले १ करोड ८६ लाख, एभरेष्ट बैंकले १ करोड ७१ लाख बराबरको कारोबार गरे । बिहीबार धेरै कारोबार गर्ने १० कम्पनीका सूचिमा ८ स्थानमा वाणिज्य बैंक, एक स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र बाँकी एक स्थानमा नागरिक लगानी कोषको कब्जा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटलले कमाएको छ । यो कम्पनीको सेयर मूल्य ८.५० प्रतिशतले वृद्धि भयो । यस्तै, एनआइबिएल समृद्धि फण्डको सेयर मूल्य पनि ८ प्रतिशतको हाराहारीमा बढ्यो । बुधबार कमाउने कम्पनी ९ मात्र थिए भने बिहीबार १४ वटा कम्पनीले कमाए । बाँकी १२३ कम्पनीले निकै ठूलो परिमाणमा सम्पत्ति गुमाउनुपर्यो ।

बिहीबार एनएमबी बैंकको संस्थापक सेयरधनीले ठूलो घाटा व्यहोर्नुपर्यो । यो बैंकको संस्थापक सेयरको मूल्यमा १० प्रतिशतको पहिरो गयो । सिनर्जी फाइनान्स लिमीटेडको सेयर मूल्यमा ८.२१ प्रतिशतको गिरावट देखियो । कृषि विकास बैंकका सेयरधनीले समेत ६.१२ प्रतिशतले सम्पत्ति गुमाउन पुुगे । प्राइम कमर्सियल बैंकको सेयर मूल्यमा पनि साढे ५ प्रतिशतको हाराहारीमा पहिरो गयो ।