काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट बैंक तथा बित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । यही क्रममा त्रिवेणी विकास बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सले पनि आफ्ना सेयरधनीलाई सेयर लाभांशको घोषणा गरेका छन् । 

त्रिवेणी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । भदौ २२ गते सम्पन्न बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरणको निर्णय गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । 

अघिल्लो वर्ष आर्थिक वर्ष २०७१/७२ को नाफाबाट यो बैंकले आफ्ना लगानीकर्तालाई १०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यो बैंकले अघल्लिो आर्थिक वर्ष मा १९ करोड २५ लाख खूद नाफा आर्जन गरेको छ । यसको हाल चुक्तापूँजी ८२ करोड रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस सेयर व्यवस्थापनपछि बैंकको चुक्तापूँजी ९७ करोड ५८ लाख रुपैयाँ पुग्ने बताइएको छ । 

यसैगरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमीटेडले  पनि आफ्ना सेयरधनीलाई १०.५ प्रतिशत बोनस सेयर उपलब्ध गराउने घोषणा गरेको छ । 

भदौ २२ गते नै बसेको यो कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई बोनस सेयर उपलब्ध गराउने निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइनेछ । 

अघिल्लो वर्ष यो फाइनान्सले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट आफ्ना लगानीकर्तालाई ११.६१ प्रतिशत बोनस सेयर उपलब्ध गराएको थियो । 

यो कम्पनीले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ३ करोड २ लाख खूद नाफा आर्जन गरेको थियो । यो फाइनान्सको चुक्तापूँजी २२ करोड रुपैयाँ रहेको छ । १०.५ प्रतिशत बोनस सेयर निश्कासन र व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी २४ करोड ३१ लाख पुग्ने बताइएको छ ।